News of Nation

‘हामी एक चीन नीतिमा अविचलित छौं’

काठमाडौं, ५ असार–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा अविचलित रहेको बताएका छन् । ताइवान मामलामा चीनले नेपालको साथ खोजिरहेका बेला प्रचण्डको यस्तो प्रतिबद्धता आएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पूरा भएको र नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा नेकपा र सीपीसीबीच भिडियो कन्फ्रेन्स भएको थियो ।

“नेपाल र चीनबीच वर्षौं पुरानो सम्बन्ध छ । सम्बन्धमा विविध आयाम पनि छन् । हामी नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन दिँदैनौं । एक चीन नीतिको पक्षमा अडिग छौं,” प्रचण्डले भिडियो अन्तक्रियामा भनेको कुरा स्थायी कमिटी सदस्य तथा पार्टी स्कुल विभाग उपप्रमुख बेदुराम भुसालले उद्धृत गरे ।

चीनले नेपालको विकासमा सघाइरहेको र आगामी दिनमा यसले निरन्तरता पाउनेमा आशावादी रहँदै सीपीसीको स्थापना भएको ९९ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश दिएका थिए ।

स्कुल विभाग प्रमुख, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरेलले नेपाल सरकार कोरोना नियन्त्रणका लागि लागिपरेको र सरकारको प्रयास प्रभावकारी भइरहेको बताएका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारबाट पनि सहयोग प्राप्त भइरहेकाले कोरोना नियन्त्रणमा सफल हुने विश्वास व्यक्त गरेका थिए ।

स्कुल विभागमा उपप्रमुख भुसालले नेपाल–चीन, नेपाल–तिब्बतबीच १६ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै यस्ता संवाद, कन्फ्रेन्सले नवीकरण गर्ने बताएका थिए । नेपाल–तिब्बतबीच ईशापूर्व ४०५ देखि सम्बन्ध रहँदै आएको भुसालले बताएका थिए ।

कन्फ्रेन्समा तिब्बत स्वशासित कमिटीले पनि तिब्बती विकासको मोडालिटी पनि देखाएको थियो । यस्ता कार्यक्रममा चीन सरकारले आफ्ना विकासका गतिविधि नै देखाउने गरेको भुसाल बताउँछन् ।

“मैले विकासका गतिविधिबारे नेकपाका नेता–कार्यकर्तालाई जानकारी गराएको, दुई कम्युनिस्ट पार्टीबीच आपसी सम्बन्ध विस्तार भएकोमा, चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको ९९ वर्ष र नेपाल–चीनबीच सम्बन्ध स्थापित भएको ६५ वर्ष पूरा भएको अवसरमा शुभकामना दिएँ,” भुसाले बाह्रखरीसँग भने ।

भुसालका अनुसार पार्टी स्कुल विभागको नेतृत्वमा सातै प्रदेशका नेकपाका नेता–कार्यकर्ता चीन भ्रमणमा जाने र चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिने तय भएको थियो । चैतको पहिलो साता जाने तयारी थियो । तर, कोरोनाले बिथोलेपछि कार्यक्रमलाई भिडियो कन्फ्रेन्समा बदलिएको भुसालको भनाइ छ ।

“सुरुमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा जाने तयारी थियो । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि स्कुल विभाग प्रमुखको नेतृत्वमा जाने तय भएको थियो । पछि कोरोनाको कारण रोकियो । त्यही टोलीसँग आज भिडियो कन्फ्रेन्स भएको हो,” उनले भने, “आजको कार्यक्रम कार्यशाला होइन । विशुद्ध शुभकामनाक आदान–प्रदान र तिब्बतको विकासको झलक हेर्ने थियो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने कुराकानी भएको छ । कोरोना रोकिएपछि आज सहभागी भएको समूहलाई चीन आमन्त्रण गर्ने बताएका छन् ।”

उनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले स्कुल विभाग सहकार्य गर्न रुचाएको बताए । उनले एउटा विभागको जानकारी अर्को विभागलाई गराउने अभ्यास, विधि नरहेकाले विदेश विभागले जानकारी नपाएको हुन सक्ने बताए । विदेश विभागले निम्तै नपाएको भन्दै असन्तुष्टि जनाएको थियो ।

“हाम्रो पार्टी प्रणाली अनुसार एउटा विभागको जानकारी अर्को विभागलाई दिनुपर्दैन । सीधै सचिवालयलाई दिने हो । त्यही भएर जानकारी भएन होला । फेरि आज सहभागीहरू पूर्व निर्धारित हुन्,” भुसालले भने ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.