News of Nation

आजै मात्र विदेशबाट २३ वटा शव ल्याइयो (तस्बिरसहित)

काठमाडौं, ५ असार–कोरोनाका कारण विदेशमा अलपत्र (समस्यामा) परेका नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । साथसाथै त्यहाँ विभिन्न कारणले मृत्यु भएका २३ नेपालीको शव पनि आजै आइपुगेको छ ।

आज मात्रै कुवेतबाट १५० कामदार र दुई शव काठमाडौं ल्याइएको छ । उनीहरू त्यहाँको सरकारले आममाफी दिएका नेपालीहरू भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बाह्रखरीलाई जानकारी दिए ।


यस्तै, दुबईमा समस्यामा परेका १४८ जनालाई नेपालीलाई नेपाल एयरलायन्सको विमानबाट उद्धार गरिएको छ । उक्त विमान आज बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त चार्टर्ड विमानमा एउटा शव पनि ल्याइएको थियो ।

आजैै कतारको दोहाबाट कतार एयरवेजले ४३ कामदार र २० वटा शव ल्याएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । कतारबाट फर्किएका ४३ जना आममाफी पाएर फर्किएका हुन् ।

बोर्डको समन्वयमा घरमै पुर्याइँदै शव

विदेशमा विभिन्न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क घरसम्म पुर्याउन लागेको छ । यसअघि मृतकका आफन्तले निःशुल्क शव ढुवानीका लागि काठमाडौं आएर निवेदन दिनुपर्ने व्यवस्था थियो ।

कोरोनाको कारण काठमाडौं उपत्यकामा मृतकका आफन्त आउन नसक्ने अवस्थामा परिवारसँग समन्वय गरी बोर्ड आफैंले शव बुझेर उनीहरूको घरसम्म पुर्याउन लागेको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.