News of Nation

क्वारेन्टाइनमा बस्नेका लागि लाइभ कन्सर्ट

काठमाडौं, ६ असार–क्वारेन्टाइनमा बस्दा सावधानी अपनाएर खाने-बस्ने सुविधा पाउन निकै जरुरी हुन्छ। यस्तो बेला शारीरिक स्वास्थ्यको ख्याल राख्न महत्वपूर्ण छ नै, मानसिक स्वास्थ्य बारे पनि उत्तिकै ध्यान दिनुपर्छ।

सुर्खेतका केही युवाले यही कुरा मध्यनजर गर्दै क्वारेन्टाइनमा बस्नेहरूका लागि लाइभ कन्सर्ट गरिरहेका छन्। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा त्यहाँका स्थानीय सांगीतिक ब्यान्डका युवाले यो काम गर्दै आएका हुन्।

‘द ब्लुम्स ब्यान्ड र ‘जेपर ब्यान्ड नामक दुई स्थानीय ब्यान्डको सहकार्यमा क्वारेन्टाइनमा बस्ने मानिसहरूलाई लाइभ सांगीतिक मनोरञ्जन दिइरहेका छन्।

‘क्वारेन्टाइन बस्नु भएका बारे बाहिर नकरात्मक भावना फैलिन थालेको थियो। जसका कारण उहाँहरू तनावग्रस्त हुनुभएको थियो, ‘द ब्लुम्स ब्यान्डका सदस्य सुरज विश्वकर्मा भन्छन्, ‘बाहिरी मानिस क्वारेन्टाइन क्षेत्र वरिपरि जान डराउँथे। त्यसले भित्र रहनुभएका बीच मानसिक असर पर्न सक्ने डर भएको थियो। हामीले केबल आफ्नो ठाउँबाट उहाँहरूको स्वास्थ्यका लागि गर्न सक्ने सहयोग पुर्‍याएका हौं।’

सुरजका अनुसार यो कन्सर्ट क्वारेन्टाइनमा बसेकालाई ुम्यूजिक थेरापी दिने उद्देश्यले गरिएको हो। पाँच दिन यतादेखि उनीहरूले सुर्खेतका विभिन्न क्वारेन्टाइन क्षेत्रमा गएर गीत गाइरहेका छन्। यसले त्यहाँ बस्नेलाई आफ्नो भित्री तनाव भुलाउन सहज भएको उनको भनाइ छ।

सुरजसँगै ब्यान्डका अन्य सदस्य पहिल्यैदेखि संगीतमा आबद्ध थिए। संगीत बाहेक सबै जना आ(आफ्नो पेशागत क्षेत्रमा व्यस्त हुन्छन्। सुरज आफैं सुर्खेतको एक स्थानीय विद्यालयमा शिक्षक हुन्। अहिले लकडाउनका कारण सबै पठनपाठन बन्द भएको र उनीसँगै सबै साथी फुर्सदिला भएकाले यो काम गर्न अघि सरेको उनले बताए।

‘घर बस्दा उकुसमुकुस भएको थियो र केही काम पनि थिएन। लकडाउनका बेला सबै आफ्नो कामबाट खाली नै थिए, सुरज भन्छन्, ‘यसैबीच ब्यान्ड भित्रकै सदस्यको सल्लाहमा लाइभ कन्सर्ट गर्ने आइडिया फुरेको हो। आफ्नो सिप देखाउने र अरुलाई मनोरञ्जन दिने यो राम्रो मौका थियो र यो काम हाम्रा लागि परीक्षणको रूपमा पनि भयो।

अरू बेला कार्यक्रममा मात्र गाउने गरेकाले उनीहरूका लागि यो अनुभव नौलो बनेको छ।

सुरूमा क्वारेन्टाइन क्षेत्र नजिक जाने कुरा सोच्दा पनि डर लागेको तर त्यहाँ गइसकेपछि अर्कै खालको ऊर्जा पाएको सुरज बताउँछन्।

उनी भन्छन्, ुहामीले गीत गाउँदा त्यहाँ अरु खुसी हुँदै चिच्च्याउँदै नाचेको दृश्यले हामीलाई झनै प्रेरित गर्यो। सबै दर्शक रमाउनु भएको छ, र कोही त पसिना-पसिना हुने गरी नाच्नु हुन्छ। उहाँहरू खुसी हुँदा हामी खुसी नहुने कुरै भएन।

कन्सर्ट ब्यान्ड र दर्शक बीच शारीरिक दुरी कायम गरेर भइरहेको पनि उनले बताए। उनीहरूले हरेक दिन साँझ चार र पाँच बजेतिर एक घण्टा गाइरहेका छन्।

कन्सर्टमा ध्वनि उपकरण र आवतजावतका लागि भने समस्या परेको सुरजको भनाइ छ। साउन्ड सिस्टमले राम्रो काम नगर्ने र क्वारेन्टाइन क्षेत्र टाढा रहेकाले गाडी सुविधा नहुँदा एउटै बाइकमा तीन जना बसेर जाने-आउने गरिरहेका छन्।

सुरज भन्छन्, ‘घरमा पनि बाहिर निस्किँदा परिवार डराउनु भएको छ। तर हामी सबै सावधानी अपनाएर हिँडिरहेका छौं। समय र स्थिति हेरेर जति बेलासम्म यो म्यूजिक थेरापीको माग देखिन्छ, हामी त्यतिन्जेल गाएर हिँड्ने छौं।’

-सेतोपाटीबाट 

Facebook Comments

Leave A Reply

Your email address will not be published.