News of Nation

कतारबाट १४९ र दुवईबाट १५१ नेपाली बोकेको जहाज काठमाडौंका लागि उड्यो

आज ५७५ जना नेपाली स्वदेश फर्किदै, तीन जनामा कोरोना संक्रमण देखिएपछि रोकिए

काठमाडौं, ७ असार–१४९ नेपाली बोकेको जहाज कतारको दोहाबाट काठमाडौंका लागि उडेको छ ।
कोरोना भाइरस संक्रमणका कारण सिर्जना भएको समस्यामा परेकाहरु नेपालीलाई उद्धार गर्ने क्रममा आज (आइतबार) पहिलो चरणको उडान भएको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरु काठमाडौं प्रस्थान गरेका हुन् । सो उडानमा २९ जना सुत्केरी–गर्भवतीसहित ८२ जना महिला, तीन जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले विदाइ गरेका छन् ।

आबुधाबीबाट १५१ नेपाली बोकेर उड्यो, कोरोनाका कारण ३ जना विमानस्थलमै रोकिए
यस्तै यूएईको आबुधाबीबाट १५१ नेपाली बोकेको हिमालय एअरलाइन्सको जहाज काठमाडौका लागि उडेको छ । एच–९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाडौका लागि उडेको हो ।

जहाजमा २ जना नाबालकसहित २६ महिला र १२३ जना पुरुष छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ ।

त्यस्तै, केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ ।

आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । हिमालय एयरलाइन्सले आबुधाबीबाट पहिलो उडान भरेको हो ।

३ वटा उडान अनुमति पाएको एअरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्ने छ । उडान आबुधाबी बिमानस्थलबाट स्थानीय समयअुसार राति १ बजे हुने हिमालय एअरलाइन्सकी कन्ट्री हेड गीता बिष्टले जानकारी दिएकी छिन् ।

आज ५७५ जना नेपाली स्वदेश फर्किदै
आज यूएईबाट तीन वटा उडान हुँदैछ । आबुधावीबाट हिमालय एयरलाइन्स उडेको छ भने यूएईको समय अनुसार ८ बजे फ्लाई दुबइ उड्ने जनाइएको छ । १५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो । आइतबार नै नेपाल एअरलाइन्सको दोस्रो उडान हुनेछ ।

स्थानीय समय अनुसार बिहान ११। १० मा नेपाल एअरलाइन्सको वाइडबडीमार्फत उडान हुने नेपाल एयरलाइन्सका यूएई प्रमुख टीकाराम पंगेनीले जानकारी दिएका छन् । आज नेपाल एयरलाइन्सको वाइडवडीमार्फत २६६ नेपाली देश फर्किदै छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.