झापा, ९ असार–इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
विभागीय मूल्यमान्यता, आदेशनिर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ अवैध लागुऔषध (ब्राउनसुगर) कारोबारमा संलग्न ब्यक्ति, अबैध काठ चोरी निकासीमा संलग्न व्यक्तिहरु तथा अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियारका गोली तथा अन्य घरायसी हात हतियार सहित अवैध गतिविधिमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको भन्दै उनलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको छ ।