News of Nation

झापामा स्वास्थ्यकर्मी र खाडी मुलुकबाट फर्किएका ७ महिलामा कोरोना

झापा, ९ असार–झापामा मंगलबार १४ जना कोरोना संक्रमित थपिएका छन् । झापाका सबै स्थानीय तहमा संक्रमित फेला परेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार झापामा संक्रमितको संख्या २०१ पुगेको छ । मंगलबार प्रदेशभर जम्मा २० जना संक्रमित फेला परेका हुन् ।

संक्रमित देखिएकामा ८ महिला र ६ जना पुरुष छन् । बुद्धशान्ति गाउँपालिकामा ६, मेचीनगर नगरपालिकामा ३, हल्दिवारी गाउँपालिकामा २ र बिर्तामोड नगरपालिकामा २ र कचनकवलमा १ गरी जम्मा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

बुद्धशान्तिमा कोरोना देखिएका मध्ये तीन महिला र तीन पुरुष छन् । बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीका अनुसार तीन महिला कुवेतबाट जेठ ३१ र असार ५ गते फर्किएका हुन । तीन पुरुष भारतको मुम्बई र गुजरातबाट जेठ २६ र असार ४ गते आएका थिए । उता, मेचीनगरमा कोरोना पुष्टि भएकामध्ये दुई महिला कुवेतबाट आएका थिए । ती सबै मेचीनगर १० स्थित अतिथि सदन भवनको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

हल्दिवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार त्यहाँ पनि कुवेतबाट फर्किएका दुई महिलामा कोरोना संक्रमण देखिएको छ । संक्रमित महिलालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

बिर्तामोड नगरपालिकामा पहिलो पटक वडा नम्बर ५ बस्ने ३६ वर्षीय र वडा नम्बर ७ बस्ने ४६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । उनीहरू केही दिनअघि भारतबाट आएका थिए । चेन्नईबाट आएका ती पुरुष स्वास्थ्यकर्मी भएको बताइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.