News of Nation

एयर एम्बुलेन्स बनाउँदै नेपाली युवा

चितवन, १५ असार–घर छेवैमा जस्तापाताको छानो र बारबेरसहितको टहरो । यत्रतत्र छरिएका मोटर्स पार्टस् र ती साधन बनाउने टुल्सहरू । झट्ट हेर्दा मोटरको वर्कसपजस्तो झल्को दिने । छैवैमा आफैंले बनाइसकेका प्यारामोटर, एयरबोट, तीनपांग्रे कार र अहिले बन्दै गरेको इलेक्ट्रिक कार । झन्डै तीन वर्षदेखि उनको दिनचर्या योभन्दा बाहिर छैन ।

अझै पनि थुप्रै चेपाङहरू ओडारमा बस्ने र कन्दमूल खाने दिनचर्याबाट माथि उठ्न सकेका छैनन् । तर, त्यही चेपाङ समुदायका होनहार युवा सरोज प्रजा अहिले आफ्ना आविष्कारबाट लाखौंलाई चकित पार्ने सुरमा छन् । उनको पछिल्लो आविष्कार हो, एयर एम्बुलेन्स । “कामको सिलसिलामा म यसरी डुब्छु कि कहिले–काहीं त दिन र रात थाहै हुँदैन । विभिन्न प्रयोग र आविष्कार सफल भएपछि झन् उत्साही भएको छु । सरकारको सहयोग भए यो एयर एम्बुलेन्स पनि सफल हुनेमा विश्वस्त छु,” सरोज भन्छन् । दुई वर्षअघि प्यारोमिटर उडान परीक्षण, एयरबोट र तीनपांग्रे कार बनाएर गुडाइसकेका २३ वर्षीय सरोज एयर एम्बुलेन्सका लागि पनि उत्तिकै मिहिनेत गरिरहेका छन् । यहांँसम्म आउन उनले ठूलै संघर्ष गरेका छन् ।

झन्डै तीन दशकअघि उनको परिवार मलेखुको चेपाङ बस्तीबाट अहिलेको चितवनको राप्ती नगरपालिका झर्‍यो । केही वर्षपछि उनी यहीं जन्मिए । उनको परिवार दैनिक ज्यालादारीमा आश्रित थियो । दुईछाक खान मुस्किल त्यो परिवारमा उनले पढाइलाई निरन्तरता दिन सकेनन् । ४ कक्षामै उनले आफ्नो पढाइको बिट मारे । अनि १३ वर्षको उमेरमै काठमाडौं हानिए । “भन्यो भने गफ दिएजस्तो हुन्छ, यहांँसम्म आउन मैले कति संघर्ष गरें मलाई मात्र थाहा छ,” उनले विगतको पोयो फुकाए ।

काठमाडौंको कालीमाटीको एउटा गाडी ग्यारेज उनको पहिलो गन्तव्य बन्यो । हुने बिरुवाको चिल्लो पात भने झैं सुरुमा लेबर काम लगाए पनि काम थालेको तीन महिना नपुग्दै मेकानिक (मिस्त्री) बने । “साहुले अरूलाई काम गरेको एक वर्षपछि मात्र मेकानिक बनाउँथ्यो, मलाई ३ महिनामै मेकानिक बनाइदियो, मेरो काम राम्रो मानेर होला,” सुरुवाती दिन सम्झिए । उनले त्यहांँ केही वर्ष काम गरे । छोटो समयमै साहुको आंँखाको नानी बन्न सफल भए । “मैले १४ वर्षको उमेरमै जापानिज गाडीहरूका इन्जिन बनाउन जानिसकेको थिएँ,’ बोलीमा निकै फरासिला सरोजले सुनाए ।

काम, दाम दुवै राम्रो भए पनि उनको मन त्यहांँ स्थिर बन्नै सकेन । अनि फर्किए आफ्नै घर चितवन । तर, गाडीसँगको नाता टुटाएनन् । घरमा पनि उनी एक्लै त्यही गाडीकै पुराना पार्टसमै खेल्न थाले, रमाउन थाले । तर, आफूमा सीप क्षमता भएर मात्र के गर्ने यस्ता साधन बनाउन उनलाई आर्थिक अभाव तगारो बन्यो । उनीजस्तै अन्य नेपाली युवाजस्तै उनको पनि विकल्प बन्यो विदेश गएर पैसा कमाउने ।

“विदेशमा गएर नकमाएसम्म आफैंले चाहेको काम गर्न सकिन्न भन्ने बुझें म साउदी हानिएँ गाडी चालकको काममा,” जीवनको अर्को मोड सम्झिए उनले ।

उनी १४ वर्षकै उमेरमा साना ठूला, हेभी सवारीसाधन बनाउन सिपालु भइसकेका उनलाई त्यहाँ पनि राम्रो अवसर मिल्यो । तर, उनी त्यहांँ पनि टिकेनन् । “कमाएको अलिकति पैसा जम्मा गरेर साउदी गएको चार महिनामै फर्किएँ,” उनले भने । फेरि आफ्नै घरको आँगनमा रहेको अपुरो प्यारामोटरको सामान जुटाउन लागे उनी । उनले त्यसको केही समयपश्चात् प्यारोमोटर उडाउन सफल भए । उनको सफलता देखेर खैरहनी नगरपालिकाले प्रोत्साहन स्वरूप तीन लाख रुपैयांँ सहयोग गर्‍यो । “यसले मलाई थप उत्साही बनायोे, पहिलेको प्यारामोटरभन्दा आधुनिक सुरक्षित प्यारोमोटर बनाउँदै छु,” उनी प्रफुल्लित हुन्छन् ।

यस्ता उपकरण बनाउँदा धैर्य, लगानी र मिहिनेत चाहिन्छ । तर, सरोजले आफूले चाहेजस्तो सहयोग पाउन सकेका छैनन् । उनको सपनालाई केही हदसम्म पूरा गर्न उनका बाबुले कतारबाट काम गरेको पैसाले सहयोग गरिरहेका छन् । अहिले उनको ग्यारेजमा करिब ५० लाखबराबरका पार्टस्, उपकरण जम्मा भइसके । सरोजको क्षमता, साहस र आविष्कारका कारण वाग्मती प्रदेश र संघीय सरकारले समेत युवा वैज्ञानिकका रूपमा उनलाई सम्मानित गरिसकेको छ । “यही जेठ ११ गते राष्ट्रपतिबाट मलाई सम्मान गर्ने कार्यक्रम थियो कोरोनाले पर सारिदियो,” उनले भने ।

सानैदेखि आकाशमा जहाज, हेलिकोप्टर उड्दा, यसमा चढेर मज्जा लिने उनको सपना त पूरा भएको छ । तर, उनको एयर एम्बुलेन्स बनाउने सपना पूरा हुनै बांँकी छ । किनकि यो धेरै खर्चिलो र समय लाग्ने गर्छ । “यो पूरा हुन ५० लाख रुपैयाँभन्दा बढी लाग्छ, मुख्यतः यसलाई चाहिने पावरफुल इन्जिन नै हो,” उनले भने । यसलाई गति दिन र व्यावसायिक बनाउन हाल पाँचजनाको टिम मिलेर ‘सरोज चेपाङ परीक्षण तथा प्रशिक्षण केन्द्र’ दर्ता गरेका छन् ।

“अहिले एउटा इलेक्ट्रिक कार तयार गरिसकें,” उनले भने, “अब एयर एम्बुलेन्स बनाउने सामान जुटाउँदै छु ।”

एक सिटको प्यारामोटर निर्माण गरी सफल परीक्षणसमेत गरेका सरोज अहिले विद्युतीय कार र प्यारामोटर बनाउन पनि व्यस्त छन् । चालकसहित पाँचजनाको क्षमता भएको पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरी चार्जबाट चल्ने बनाएका हुन् । उनले सो गाडी परीक्षण पनि गरिसकेका छन् । ४ घण्टा चार्ज गरेपछि १२० किलोमिटर चल्ने उनले बताए । उनका अनुसार नयाँ विद्युतीय कार बनाउँदा १० लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ । पाँचजना क्षमताको कारसँगै उनले तीनपांग्रे कार पनि बनाइरहेका छन् । आर्थिक अभावबीच उनले आफ्नो सीप, कला, क्षमतालाई रोकेका छैनन् ।

उनी भन्छन्, “सरकार र अन्य संस्थाले सहयोग गरे एयर एम्बुलेन्स र ३२ सिटे बस निर्माण गर्ने योजना छ ।” आफ्नो लक्ष्य, उद्देश्यसहित उनले बिट मारे । उनको समुदायमा कतिले मोटरसमेत देखेका छैनन् तर त्यही समुदायबाटै उनी अहिले यस्ता नवीनतम आविष्कारक बनेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.