News of Nation

सुदूरपश्चिमका क्वारेन्टाइनमा मात्रै ८ जनाको मृत्यु

एकमा संक्रमण पुष्टि, ३ को रिपोर्ट बाँकी, सबै मृत्युमा कोरोना नजोड्न आग्रह

बैतडी, २५ जेठ-बैतडीसहित सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी बैतडीमा ३, बाजुरा, डडेल्धुरामा २-२ र डोटीमा १ जना छन्। ७ जनाको १ सातामा मृत्यु भएको हो भने १ जनाको वैशाख २० गते मृत्यु भएको हो। शनिबार मात्रै यस प्रदेशमा क्वारेन्टाइनमा बसेका ३ जनाको मृत्यु भएको छ।

बैतडीको पाटन नगरपालिकास्थित भीमदत्त प्राविधिक शिक्षालयमा क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको भारतबाट फर्केकै दिन शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ सीताराम आधारभूत विद्यालयमा ७ दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ। साथै बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्ध मृत्यु भएको छ।

यसअघि २१ जेठमा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो। २० जेठमा पनि बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। त्यसअघि १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भयो। यसका साथै १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक २ वर्षकी बालिकाको मृत्यु भएको भएको थियो।

बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो। त्यसअघि वैशाख २० गते पनि बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ बर्षीय बृद्धको पनि क्वारेन्टाइन जादैं गर्दा मृत्यु भएको थियो।

Facebook Comments

Leave A Reply

Your email address will not be published.