News of Nation

शिबसताक्षीमा कोरोना नियन्त्रण, रोकथाम तथा विपत कोषको आय-व्यय सार्वजनिक

जीवनसिंह राजवंशी शिबसताक्षी, २७ जेठ–झापाको शिवसताक्षी नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको कोषमा भएको आय व्यय आज सार्वजनिक गरेको छ ।

नगरपालिकाले मंगलबार व्याङडाडाँस्थित नगर कार्यापालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना भाईरसको रोकथाम तथा राहत बितरणको सम्पुर्ण आय व्यय सार्वजनिक गरेको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको नगरको कोषमा ९० लाख २५ हजार ५ सय ४६ रुपैँया रकम जम्मा भएको नगर प्रवक्ता नविन इजमले जानकारी दिनुभयो । जसमा ५१ लाख ५३ हजार ५ सय ७५ रुपैँया रकम खर्च भएको छ भने ३८ लाख ७१ हजार ९ सय ७१ रुपैँया रकम कोषमा रहेको प्रबक्ता इजमले बताउनुभयो ।

आम्दानी तर्फ नगरपालिकामा प्राप्त दाताहरुबाट १७ लाख १७ हजार ६८५, नगरपालिकाबाट १० लाख, जनप्रतिनिधिहरुबाट ४ लाख २८ हजार, कर्मचारीहरुबाट १ लाख ९७ हजार ३७४, प्रदेश सरकारबाट १० लाख, नगरको प्रकोप व्यवस्थापन कोषको ४६ लाख ८२ हजार ४८७ रहेको नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइन व्यवस्थापन, शिवसताक्षीको दूधेमा रहेको होल्डिङ्ग एरिया व्यवस्थापन, स्वास्थ्य सामाग्री खरिद, राहत सामाग्री खरिद, स्वयमसेवक प्रारिश्रमिक आदिमा खर्च गरिएको जानकारी गराइएको थियो ।

नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरपालिकाले कोरोना नियन्त्रणका लागि गरिएको काम प्रभावकारी भएका कारण नै शिवसताक्षीमा कोरोना नदेखिएको बताउनुभयो । उहाँले हालसम्म क्वारेन्टाइनमा १ सय ७ जनालाई राखि सकिएको जानकारी दिनुभयो । जसमा आरडिटि विधिबाट ५९ जना र पिसिआर विधिबाट ५८ जनाको कोरोना परीक्षण गरी नेगेटिभ रिर्पोट आएपछि सबैलाई घर पाइएको नगर प्रमुख शेर्माले बताउनुभयो । हाल क्वारेन्टाइनमा १७ जना रहेका छन् । स्वाव संकलनका लागि ४ सय ५० भिटिएम किट र आरडिटी परिक्षणका लागि करिब ५ सय किट नगरमा मौज्दात रहेका समेत जानकारी गराइएको थियो ।

लकडाउनका बाबजुत पनि सामाजिक दुरी कायम गरी नगरका सबै विकासका कामहरु सुचारु गरिएको उपप्रमुख भोजकुमारी नेपालले बताइन् । लकडाउनले गर्दा शिवसताक्षीमा सञ्चालित आयोजनाहरु कुनै रोकिएका छैनन् उनले भनिन्, ‘हामीले एक महिना काम रोकेका थियौ, तर जिल्ला समन्वय प्रकोप व्यवस्थापन समिति लकडाउन केही खुकुलो गरी विकासका काम सुुचारु गर्ने निर्णयसँगै हामीले पनि निर्माण कार्यलाई तिब्रता दिएका छौं ।

नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १८३ जनालाई रोजगार दिइरहेको उपप्रमुख नेपालले बताइन् । रोजगार नपाएर बसेका अति विपन्न परिवारलाई मात्र राहत वितरण गरिने समेत उनले जानकारी दिइन् । सो कार्यक्रममा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले समेत सहभागिता जनाएकी थिईन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.