News of Nation

झापामा पहिलोपटक महिलामा पनि देखियो कोरोना, जिल्लाभर संक्रमित १ सय ५३

भद्रपुर, २९ जेठ–पहिलो पटक जिल्लामा महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाका १३ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ। योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ५३ पुगेको छ। बुधबार कनकाई नगरपालिकामा ३ जना, गौरदाह गाउँपालिका र मेचीनगर नगरपालिकामा एकएक जना सङ्क्रमित थपिएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए। कनकाईमा पहिलो पटक भेटिएका तीन जना कोरोना सङ्क्रमित भारतको उत्तर प्रदेशस्थित कानपुरबाट गत जेठ ९ गते झापा गाउँपालिकाको लसुना नाकाभएर आएका थिए।

संक्रमण देखिएका कनकाई ३ र ५ बस्ने १६, १७ र ३५ वर्षीय पुरुष रहेका छन्। कनकाई बहूमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरूको स्वाब संकलन गरी पिसिआरका लागि विराटनगर पठाइएको थियो। त्यस्तै गौरादह नगरपालिकाको जनता मावि क्वारेन्टाइनमा बसेकी बैगुन्धुरा ९ बस्ने २२ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लामै पहिलो महिला सङ्क्रमित गौरादहमा भेटिएको हो। उता मेचीनगर ३ बस्ने ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी भारतको दिल्लीबाट मजदुरी काम गरेर घर फर्किएका हुन्। उनीसहित ५ नेपाली जेठ १९ गते काँकडभिट्टा नाकाबाट आएका हुन्। उनीहरूलाई मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। त्यहीबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि विराटनगर पठाइएको जनाइएको छ।

जिल्लाको कचनकवलमा १ सय १३, गौरीगञ्ज १२ जनामा, भद्रपुरमा तीन जना, अर्जुनधारामा दुई, गौरादह नगरपालिकामा पाँच जना, दमक नगरपालिकामा एक जना, मेचीनगरमा दुई, झापा गाउँपालिकामा एक जना, बाह्रदशीमा चार जना, बुद्धशान्तिमा पाँच जना, हल्दिबारीमा दुई, कमल गाउँपालिकामा एक जना कोरोना पुष्टि भइसकेको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.