News of Nation

परीक्षा नदिई कसरी पाउँछन् एसइईका विद्यार्थीले सर्टिफिकेट ?

काठमाडौं, ३० जेठ–सरकारले माध्यमिक शिक्षा परीक्षा एसइई यो वर्षका लागि खारेज गरेसँगै विद्यार्थीले के आधारमा सर्टिफिकेट पाउँछन् भन्ने चासो छ।

शिक्षा मन्त्रालयको प्रस्तावअनुसार बुधबार राति सकिएको मन्त्रिपरिषद बैठकले यसबारे प्रष्ट भनेको छ– विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनका आधारमा विद्यार्थीले नम्बर पाउँछ।

त्यो अन्तिम मूल्यांकन विद्यालयले गरेको आन्तरिक परीक्षा पनि हुन सक्छ। अरू के–के आधार हुन सक्छन् भन्ने समेट्न कार्यविधि बनाइन्छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले बनाउने कार्यविधिअनुसार विद्यार्थीको एसइई परीक्षाफल तयार गर्ने, भेरिफाइ गर्ने र प्रकाशन गरिनेछ।

कार्यविधि बनाउन केही समय लाग्ने उनले सेतोपाटीलाई बताए। ‘एसइईबारे सबै काम अब परीक्षा बोर्डले कार्यविधि बनाएअनुसार हुन्छ। कार्यविधि केही दिनभित्रै बनाइन्छ,’ उनले भने।

सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना महामारी संकटले यस वर्ष एसइई परीक्षा सम्भव नभएकोले शिक्षा ऐन २०२८ को दफा २० लाई बाधा अड्काउफुकाउ गरिएको हो।

उक्त ऐनको बुँदामा कक्षा १० को अन्तिम परीक्षा एसइई हुने उल्लेख थियो। चैत ६ देखि हुनुपर्ने एसइई कोरोना महामारीका कारण स्थगित थियो।

‘कोरोनाले संक्रमण थप फैलन सक्ने संभावना भएकोले एसइई परीक्षा गर्न जोखिम भयो। परीक्षा नहुँदा विद्यार्थीको पढाइ र मनोबलमा प्रतिकूल प्रभाव पर्न सक्ने भएकोले महामारीको परिस्थिति हेरेर एसइई परीक्षा नलिने निर्णय गरिएको हो,’ सरकारकार प्रवक्ता खतिवडाले भने।

अब विद्यालयले गरेको अन्तिम मूल्यांकन नै सम्बन्धित विद्यालयले जिल्ला हुँदै केन्द्रमा पठाउनुपर्नेछ। ‘विद्यालयद्वारा गरेको अन्तिम मूल्यांकन सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ,’ प्रवक्ता खतिवडाले भने।

जिल्लाबाट प्राप्त विद्यार्थीको विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्ने खतिवडाको भनाइ छ। ‘प्राप्त विवरणको आधारमा परीक्षाफल तयार गर्ने, प्रमाणीकरण गर्ने र जारी गर्ने काम परीक्षा बोर्डको हो,’ उनले थपे।

यसबारे बोर्डले आवश्यक पर्ने कार्यविधि बनाउन सक्ने मन्त्रिपरिषदले अधिकार दिएको छ। ‘एसइई नगर्ने निर्णय राजपत्रमा प्रकाशित गर्ने तथा यससँग आवश्यक पर्ने कार्यविधि बनाउन बोर्डले सक्ने निर्णय भएको छ,’ खतिवडाले भने।

बोर्डले विद्यालयले पठाएको विद्यार्थीको आन्तरिक मूल्यांकनकै आधारमा सर्टिफिकेट जारी गर्छ। कोरोना संक्रमित संख्या वृद्धि भइरहेको, भारतलगायत ठाउँबाट स्वदेश फर्केका मानिस विद्यालयमा सञ्चालित क्वारेन्टिनमा बसिरहेको अवस्थामा एसइई तत्काल गर्न सम्भव थिएन।

Facebook Comments

Leave A Reply

Your email address will not be published.