News of Nation

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भनेः ‘राजपा नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको हो’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले अन्तिममा कांग्रेस पछि हट्छ कि भन्ने आफूलाई शंका लागेको भएपनि हिजो कांग्रेसले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेकोले खुशी व्यक्त गरेका हुन् । त्यस्तै, उनले राजपा पार्टीमाथि नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको भनेर गम्भिर आरोपसमेत लगाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । केसीसँग गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मत दिने निर्णय गर्यो, तपाईंहरुको कहिले आउँछ ?

–हाम्रो त आइसक्यो नि । अस्तिको सर्वदलीय बैठकमै सबैको अगाडि प्रष्ट भनिसकेको छु ।

तपाईंले के भन्नुभयो ?

–निशान छापको लागि जुन संविधान संशोधन गर्न आवश्यक छ । यसको लागि राष्ट्रिय जनमोर्चाको पनि समर्थन छ भनेर सर्वदलीय बैठकमै स्पष्ट गरिदिएको छ । संविधान संशोधन प्रस्तावमा अरु विषय पनि प्रवेश गर्नुपर्छ । त्यसको लागि संघीयतालाई खारेजी राष्ट्रिय जनमोर्चाको पहिलादेखिको माग हो । हामीले यो संशोधन प्रस्ताव पनि दर्ता गर्न पाउनुपर्छ भनेका छौं ।

नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाइएको नक्सा अनुसार निशाना छाप हुनुपर्छ भन्ने संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेर राम्रो काम गर्यो ?

–यो कांग्रेसले धेरै राम्रो काम गर्यो । अन्तिममा पछिहट्ने काम गर्छ कि भनेर मलाई असाध्यै डर लागेको थियो । किनभने महाकाली सन्धिका बेलामा चाहीं चुक्यो । त्यसको सजाय पनि पायो । यसपालि पनि कांग्रेस बिग्रन्छ कि भन्ने मलाई धेरै डर लागेको थियो भित्रभित्रै । एकदमै स्वागतयोग्य निर्णय गरेको छ । त्यसको लागि धन्यवाद छ नेपाली कांग्रेसलाई ।

समाजवादी पार्टीले पनि आफूलाई संशोधनको पक्षमा उभ्यायो, तर राजपाटी त विपक्षमा रह्यो नि ?

–राजपा किन गठन भएको हो । यसको जन्म नेपालमा किन भयो ? उसले नेपालको सन्दर्भमा केगरिराखेको छ । त्यो कुरा त संसारले जान्दछ । नेपाली जनताले पनि जान्दछन् ।

राजपा किन गठन भएको रहेछ त ?

–नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको हो । यो नेपालको पक्षमा, तराईंका शोषित, पीडित जनताको पक्षका काम गर्न होइन ।

त्यसोभए महन्त ठाकुर, राजेन्द्र महत्वले संविधान संशोधनको पक्षमा आफूलाई उभ्याएनन् ?

–त्यही कुरा देखिएको छ । यही बेलामा उनीहरुले आफ्ना एजेन्डालाई अगाडि सारे । देशको राष्ट्रियता, अखण्डता र सार्वभौमतामाथि भारतयले यत्रो हस्तक्षेप गर्दा भारतीय हेपाहा प्रवृत्ति विरुद्ध उनीहरु पनि देखाहा पर्छन् कि भन्ने आशा थियो । त्यो सर्वदलीय बैठकमै उहाँहरुबाट आएको अभिव्यक्तिबाटै थाहा यो ।

अब संविधान संशोधनको पक्षमा रष्ट्रिय सहमति बन्नेभयो होइन ?

–त्यो त राष्ट्रिय सहमति बन्नैपर्छ नि । देश रहेन तपाईं, हामीले राजनीति गर्ने हो नि । देश भनेको सबैको हो नि । यहाँ यति तेरो, यति मेरो भन्ने कुरा भएन ।

कतिपय मधेसवादी दलका नेताहरुले संविधान संशोधन प्याकेजमा हुनुपर्छ भनेका छन् नि ?

-प्याकेजमै हो भने त प्रदेशको विषयमा प्रस्ताव हुनुपर्यो । प्रदेशले जुन बजेट छुट्ट्याएको छ । नगरपालिका र गाउँपालिकामा औषधि किन्न पठाउनुपर्यो । अहिले प्रदेशको औचित्य के ? त्यसैले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने पहिलादेखिको माग छ । त्यो माग पनि पुरा गरिदिनुपर्यो ।

त्यसोभए प्रदेश सरकारको आवश्यकता र औचित्य छैन ?

–प्रदेश संरचनाको कुनै औचित्य छैन । अहिलेको कोरोना संक्रमणको विषयमा पनि संघ र स्थानीयले काम गरिरहेका छन् । प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रीहरुले सिन्को भाँचेको देख्नुभयो ? गाउँपालिका, नगरपालिकाहरु भ्याइनभ्याइ गरेर काम गरिरोका छन् । जनता र नगरपालिका र गाउँपालिकामा न छ । अनि प्रदेशको औचित्य के उसले सिन्को भाँडेको देख्नुभयो । मुलुकलाई कोरोना भाइरसले थिलथिलो बनाउँदा प्रदेश सरकारले सिन्को भाँडेको देख्नुभयो ?

त्यसैले नेपालमा संघीयाको काम छैन भन्ने राष्ट्रिय जनमोर्चाको पहिलादेखिको माग हो । अहिले सन्दर्भ आएको छ । त्यो प्रदेशलाई छुट्ट्याएको पैसा गाउँपालिका, नगरपालिकाले पाए कति विकास हुन्छ । सीमानामा सुरक्षाकर्मी तैनाथ गर्न खर्च त्यत्तिकै छ । त्यसको लागि खर्च गर्नुपर्छ ।

सीमानामा त अब नेपाली सेनालाई पठाउनुपर्छ भन्ने छ ?

–सेनाले आफ्नो सीमानाको सुरक्षा गर्नुपरिहाल्छ नि ।

राष्ट्रिय सुरक्षापरिषद्को बैठकले त्यही निर्णय गरेको छ नि ?

–सरकारको सबैभन्दा पहिलो काम भनेको देशको सीमाना सुरक्षा गर्ने हो । हाम्रो देशमा अर्को देशले आफ्नो भूमि अतिक्रण गरिराखेको हुन्छ । अनि नेताहरु चाहीं त्यसैको दास बन्ने, त्यसको दानापानी खाने, त्यसैलेको गुलामी गर्ने गर्दछन् । अनि दगलगत र व्यक्तिगत स्वार्थले गर्दा दास बन्नुपरेको हो । त्यहीं भएर त भारतले हेपेको हो नि ।

सीमासुरक्षाको लागि नेपाली सेना परिचालन गर्नुपर्छ ?

–आवश्यक परेपछि त गर्नुपर्यो नि । आफ्नो भूभागमा आएर अर्काको सेना बसेको छ । त्यसलाई टुंगो लगाउन सकेका छैनौं । अन्य ठाउँमा पनि अतिक्रमण हुने संख्या बढिरहेको हुन्छ । अनि सेनाको के काम त आफ्नो देशको भूभागमाथि प्रश्न उठ्दा पनि भूमिका खेल्न नसेके । पहिलो काम भनेको आफ्नो जमीनको साँध, सीमानाको रक्षा गर्नुपर्छ ।

एमसीसी अनुमोदन गराउने प्रक्रियाबाट प्रधानमन्त्री पनि ब्याक हुनुभएको हो ?
त्यो ठीक भयो ।

प्रधानमन्त्रीको निर्णय ठीक भयो ?

–प्रधानमन्त्री मात्रै होइन । सत्तापक्ष दलका सांसद् पार्टीले जे निर्णय गर्यो । देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतालाई बन्दगीमा राखेर पैसा ल्याउने हो र ? विदेशीहरुको सैनिक अखडा बनाएर हात थाप्ने हो ? यो एमसीसीको विषयमा गल्ती सच्याउनुपर्छ भन्ने राष्ट्रिय जनमोर्चाको पहिलादेखिको माग हो । देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता आँखाको नानी हुनुपर्छ । त्यो फुटेपछि अरु जीउले के काम गर्छ ? राष्ट्रघाती एमसीसीको विषयमा सत्ताधारी साथीहरुले जे निर्णय गर्नुभयो । त्यो स्वागतयोग्य छ ।

प्रधानमन्त्रीले पार्टीले जे भन्छ म त्यही मान्छु भन्नयो नि ?

–त्यो नेकपामा मात्रै होइन रहेक पार्टीको त्यही हुन्छ । त्यहाँ पुग्नको लागि पार्टी चाहिने, पुगिसकेपछि नेताहरुले जे मन लाग्या त्यही गरेर न मुलुक खतम भएको हो । पार्टीले गरेको निर्णय मान्दा त सामुहिक धारणा हुन्छ नि । त्यो नमान्दा न हरेक पार्टीमा झगडा भएको हो ।

अब लिपुलेक, लिम्पियाधुराको समस्या समाधानका अरु केही उपाय छन् कि वार्ताबाटै गर्नुपर्छ ?

–सबैभन्दा पहिलो कुरा त वार्ता नै हो । भारतमै पनि नेपालको पक्षमा धारणा राख्ने लाखौं जनताहरु छन् । वार्ताबाट टुंगो लागेन भने मात्रै अरु बाटो खोज्नुपर्छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले त लिपुलेक विवाद वार्ताबाटै समाधान गर्नुपर्छ भन्नुभयो नि ?

–त्यसको लागि उहाँहरुले मुखले बोलेर हुँदैन । व्यवहारमा उतार्न सक्नुपर्छ । नेपाल सरकारले वार्ताको लागि बारम्पार विषयहरु उठाइरहेको छ । भारतीय पक्ष भने के गरेर नेपाललाई हेप्न, दबाउन सकिन्छ भनेर लागिरहेका छन् । त्यो कुरा हाम्रो शासन, सत्तामा बस्नेहरु र जनतालाई स्पष्ट रुपमा थाहा छ ।

देशको राष्ट्रियता, अखण्डता र सार्वभौमप्रति नेपाली जनता एक ढिक्का भएर उभिएपछि कतिपय विषयमा न्यायप्रेमी जनताहरुले हाम्रो पक्षमा बोल्छन् । सबैभन्दा पहिला हामीले खुट्टा टेक्नुपर्छ । त्यसोभएपछि नेपाली जनताले पनि साथ दिन्छन् । भारतीय न्यायप्रेमी जनताले पनि हामीलाई साथ दिनेछन् न्यायको पक्षमा । त्यो नेपाली भूभाग हो । त्यसलाई न्यायोचित ढंगले फिर्ता गर्नुपर्छ ।

-न्यूज अभियान डट कममा १८ जेठमा प्रकाशित अन्तरवार्ता

Facebook Comments

Leave A Reply

Your email address will not be published.