News of Nation

भित्रियो मनसुनः ठूलो बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ३२ जेठ–नेपालमा पनि मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँग देशका विभिन्न स्थानमा यसको प्रभाव देखिन थालेको छ ।

हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण आज देशका धेरै भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी गराएका छन् ।

हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशभर पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हिजो भारी वर्षासँगै आएको पहिरोले पर्वतको कुश्मामा घर बगाउँदा पाँच जनाको ज्यान गएको छ । पहिरोमा परी अझै चार जना वेपत्ता छन् । मनसुन सक्रिय भएसँगै खोलानाला बढ्ने र बाढी पहिरो जान सक्ने भएकाले सचेत र सुरक्षित रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.