दाङ, २ असार–घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन्। घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ ३२ मा क्वारेन्टाइनमै विवाह गरेको वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालले जानकारी दिए।
करिब २५र२६ दिनअघि भारतको दिल्लीबाट आएर उनीहरु वडा नम्बर १८ को आधारभुत विद्यालय बेलघारी क्वारेन्टाइनमा बसेका थिए। ‘नौ महिनाअघि देखि उनीहरुको प्रेम सम्बन्ध रहेछ,’ वडाध्यक्ष अर्यालले भने, ‘उनीहरु सँगै भारत गएका र सँगै आएका रहेछन्। उनीहरुले जेठ ३२ मा धार्मिक संस्कार अनुसार सामाजिक दूरी कायम गर्दै बरपिपललाई साक्षी राखी विवाह गरेका हुन्।’ ती दम्पत्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई १४ दिनसम्म छुट्टाछुट्टै बस्ने निर्देशन दिएर घर पठाएको वडाध्यक्ष अर्यालले बताए।
असारमा नौ महिना हुने भएकाले उनीहरु दुवैको आग्रह र घरपरिवारको सरसल्लाह अनुसार क्वारेन्टाइनमा विवाह गरिदिएको समेत उनले बताए ।