News of Nation

अन्तरजातीय विवाहलाई प्रोत्साहन गरौँ

-रेनुका आचार्य

गत जेठ १० गते शनिबार रुकुम, जाजरकोटमा भएको त्यो निन्दनीय घटनाले नेपाली समाजको अमानवीय रुपलाई उदाङ्गो पारीदिएको छ। छ होनाहार युवा गुमायो यो देशले।

जाजरकोट भेरी नगरपालिका ४, रानागाउँका २१ वर्षीय नवराज विकले रुकुम पश्चिमको चौरजहारी नगरपालीका ८, सोतीकी मल्ल थरकी युवतीसँगको प्रेमलाई सफल पार्न दुलही लिन जाँदा ठूलो भेरीमा उ र उसका पाँच जना साथीको सास बिनाको शरीर भेटिन्छ।

जिल्ला अदालत रुकुमले उक्त घट्नामा दोषी औंल्याइएका चार जना बाहेक चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहीत २३ जनालाई पूर्पक्ष थुनामा राख्ने आदेश दिएको छ। वडाध्यक्ष मल्लसहीतका मानिसहरुलाई सत्तारुढ दल नेकपाका एक नेता जनार्दन शर्माले संरक्षणको प्रयास गरे पनि अदालतले दोषीको रुपमा हेर्दै पूर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको छ।

दोषीलाई कडाभन्दा कडा कारबाही हुनुनै पर्छ ताकी भोलि फेरि यस्तो घटना नदोहोरियोस्। समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदर स्वरुप सरकारले २०७३ सालबाट प्रदान गर्न थालेको पुरस्कार राशी एक लाख रुपैयाँ रहेको समाज सुधार अभियान तर्फ सरकारले मरोणेपरान्त नवराज विकलाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ।

मर्ने र मर्नेका आफन्तलाई न्याय यतिले मिल्छ त ? बाच्दा नमिलेको न्याय मरेपछि कसरी मिल्छ ? उसका लागि त न्याय उसको लाससँगै मरिसक्यो। न्याय त अब बाच्नेका लागि आवश्यक छ। अलिअलि न्याय त त्यतिबेला मिल्नेछ जब अरु नवराजहरु, विक भएकै कारण मर्नु पर्दैन।

विसं १९१० मा बनेको मुलुकी ऐन साँच्चै विभेदकारी थियो। उपल्लो जात र तल्लो जात भनेर कानुनले नै छुवाछुतलाई प्राथमिकतामा राखेको थियो।

विसं २०२० को मुलुकि ऐन जसले छुुवाछुत अन्त्य गर्यो। फेरि विसं २०६३ मा आएर नेपाललाई छुवाछुत मुक्त देश भनेर घोषणा समेत गरियो। छुवाछुतको अन्त्य गर्ने कानुन बनेयता हामी पाँच दशक र छ वर्ष भेदभाव रहित समाजको कल्पना गर्नमै व्यस्त छौँ। तर हामीले वास्तविक भेदभावलाई कत्तिको पारिनै छोड्न सकेका छौँ त ?

यी ५७ वर्षका बीचमा हामीमा आएको चेतनाको स्तरले समय स्थिर भएको जस्तो देखाउँदैन र ? परिवर्तनका छिटाहरु कही कतै देखिदैछन् तर त्यतिले मात्र पूर्ण समाज निर्माण गर्न सक्ला र ?

जातीय भेदभावलाई दण्डित गर्ने कानुन बनेयता मात्रै १७ जना दलित भएकै कारण ज्यान गुमाउन बाध्य भए। त्यसमध्ये ७ जनाले अन्तरजातीय प्रेम र विवाहका कारण ज्यान गुमाएका छन्। यहाँ त प्रजातन्त्र र लोकतन्त्रको अभ्यासमाथि प्रश्न उठाउने ठाँउ प्रशस्तै भेटिन्छन् हैन र ? जातकै आधारमा कहिलेसम्म मर्ने नवराजहरु ?

एकपटक सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न सो अनुसार विवाह गर्नेलाई पुरस्कारको व्यवस्था पनि गरेको थियो। त्यसको उपयोग केहीले गरे पनि। हदसम्म यस्ता अभियानले छिर्केमिर्के छिट्टाहरु छर्लान् तर जरो नफाली बिरुवा मर्दैन।

प्रत्येक मिनेट, दिन, वर्ष वा समयमा नयाँ पुस्ता विस्तार हुँदै जान्छ। औषतमा २० वर्षमा एउटा पुस्ताले अर्को पुस्ता जन्माउँछ। यो हिसाबले लगभग विसं २०२० यता ३ पुस्ताले समाजको अनुभव लिए, लिदैछन्। तर तीन पुस्तामा देखिएको चेतनामा केही फरक छ त ?

हिजो हजुरबा पनि जातभातमा कट्टर। आफ्नै जातमा बिहे भएकी आमा झन् कट्टर। हुँदाहुँदा यति माया गर्ने बा-आमाका, कुरा काट्नै नसक्ने पढेलेखेका मेरा पुस्ता या भनौँ सन्तान त बाहिर भन्न नहुने तर भित्र भित्रै कट्टर माथिको कट्टर।

अरु सबै थोक चलेपनि विवाह आफ्नै जातसँग चलाउन रुचाउने मेरो पुस्ता। घरभन्दा बाहिर विभिन्न जातका साथी सँगसँगै बस्नु, खानु, हिँड्नु यो सामान्य छ। तर बाहिर जस्तोसुकै होस्, घरमा कुल देवता हुन्छन्, नियम हुन्छ त्यो मान्नु नै पर्छ। मानौँ सही, कामकाज, पढाई लेखाईमा समता आयो अरे तर एउटा जातको मानिस अर्को जातको मानिससँग पारिवारीक सम्बन्ध गाँस्नै सक्दैन भने त्यो समतामा मानवता अटेको छ त ?

मलाई तँ चाहिन्छ, तँलाई म चाहिन्, किनकी सबै सबैमा निर्भर छौँ। भेट्दा, बोल्दा राम्रो त गर्नै पर्यो। कानुनले व्याख्या गरेको समतामा यी कुरा मात्रै अट्छन् ? मेरो पुस्तामा पनि यति निचो सोचले मज्जाले मलजल पाएको देख्दा दिक्क लाग्छ।

आफूमा भएको विवेक प्रयोग गर्ने क्षमता अझै पनि मेरो पुस्तामा निकै कम मात्रामा भेटिन्छ। किन होला ? कुन विश्व विद्यालयमा पढाउने होला अब मानवता ? कति कमसल चेतना।

आउनुस्, म मेरै पुस्ताको मेरै कुरा गर्छु।

म निम्न मध्यम वर्गीय परिवारमा जन्मिएँ, हुर्किएँ। मेरा बुवा, आमामा पर्याप्त शिक्षा र प्रभाभकारी चेतनाको अभाव हुँदा उहाँहरुलाई मेरो विद्रोह अलि मन नपर्ला। कारण यो समाजको भय।

गाउँघर तिर भन्ने गर्थे ‘फलानी त फलानो जातको सँग हिँडी अरे।’  ओहो नाकै काटिछे, विचरा अब ती बा-आमाले के गर्नु बरु बसाई सरेकै बेस है।’

‘घरमा भित्र्याएकै छैनन् अरे। के गरि खालान् ?’  ‘खुबै बा–आमाले खोजिदिएको सरकारी जागिरे त्यहाँ माथि हुनेखाने खान्दानीलाई छाडेर, बा-आमालाई लात्ती हानी हाली ठिकै परेछ।’

‘ओहो ! फलानो जातसँग गाकी थिई, लु बल्ल थाहा पाई अजातसँग जादाँ के हुँदो रहेछ। अब बा-आमाको किरिया बस्दा नि कुकुर बसे जसरी बस्नु परेनत।’  ‘जेसुकै गर्नु तर अजातसँग बिहे नगर्नु।’

‘फेरि फलानाले फलानो जातकी केटी ल्यायो रे। होर, अब केको भित्र्याउनु नि घरमा आउन पनि दिदैनन् अरे। विचरा जातमा कोही नभेटेर अर्को जातकी ल्याउनु परेको त्यसलाई। दुख पाउने भयो।’

सबैलाई डर छोरी तल्लो जातसँग जाली, छोरोले अजात ल्याउला। हतार-हतार आफूले रोजेको केटो या केटीसँग लगन गाठो कस्न पाए, बा-आमालाई ढुक्क। छोराछोरीको कर्म गरियो, आफ्नो नाक त जोगियो।

मारे पाप पाले पुण्य भनेर छोरी दिई हालीयो, आफ्नै जातकी बुहारी भित्र्याई हालियो समाजमा इज्जत यसै पनि।

यो सुन्दा मेरो बाल मस्तिष्कमा पनि के–के सोच आउथे। किन ? बा–आमालाई यति रुवाएका होलान् ? अनि किन आफूले मन पराएको मान्छेसँग बिहे गर्दैमा उहाँहरुले पनि यति दुखमनाउ गर्नु परेको होला भनेर ?

जो जातीय विभेद अमानवीय कार्य हो भन्ने सम्मको सत्यको नजिक नै नपुगेको मान्छे हुन्छ उ र उनीहरुबाट यस्ता पछ्यौटे कुरा आउनुमा केही गुनासो छैन। तर यो समाजका प्रतिष्ठितहरु, राजनीतिज्ञ, जो परिवर्तन र विकासका नारा हर-बखत लेख्छ र बोल्छ, समाजसेवी, पत्रकार, शिक्षक आदि इत्यादी धेरै व्यतिहरु जो बाहिर बाहिर हो हजुर भित्रभित्र भो हजुर भन्ने किसिमका हुन्छन्।

दया लागेर आउछ यस्ता सोचहरुका प्रति। मन इमान्दारीताको धर्ममा त रहेनछ, रहेनछ। तर जिवन निर्वाहकै लागि यत्रो झुट बोलेर समाजलाई अधोगतीमा लान योगदान दिनु किनरु यसैले सहीलाई सही बुझाउन पनि चुनौती खडा भैरहन्छन्। शिक्षित, भलाद्मी तर अविवेकी मानीसको जमात समस्या बनेर खडा भैदिन्छ।

एकजना यस्तै समाजले गन्नेमान्ने मान्छेले भनेको सम्झिन्छु, ‘बहिनी जे भएपनि जात भनेको जात नै हो है। बिहे गर्दा अलिक विचार पुर्याउनु पर्छ है।’  मलाई बडो अचम्म लाग्छ कति सङ्कीर्ण सोच। हुन त मेरै भलाई सोचेर एउटा शुभचिन्तकका नाताले भन्नु भएको हुनसक्छ। तर मैले त उहाँलाई त्योभन्दा माथि सोचेकी थिएँ।

तर मलाई त्यो पटक्कै मान्य थिएन र छैन पनि। कति ठाउँमा म विभेदको पक्षमा छैन भनेर ठाडै अस्वीकार गरेकि छु, त कति ठाउँमा मौन बसेकी छु। मौन बस्नु पनि समर्थन जनाए सरह हो। त्यो मेरो कमजोरी हो, त्यहाँ मेरो विचार मर्यो, परिस्थितिलाई दोषारोपण गर्नुभन्दा बढी।

तर मत अर्को पुस्ताको सभ्य समाज निर्माण गर्ने अभिभारा बोकेको मान्छे, ममा पनि परिवर्तनका कदम चाल्नुपूर्व सर्तहरु लागू हुन्छन् भने म सिधासिधी पढेको जानेको निरक्षर भइन र ? तर म त्यो हुन चाहान्न। बाहिर समान भित्र दूरदूर र अपमान। त्यो मेरो इमान्दारीताभन्दा तलको कुरा हो।

यदि मलाई कोही मनपर्यो, उसले म र मेरो भावनालाई बुझ्छ भने अर्थात् अन्तर्जातीय प्रेम छ भने मलाई यो समाजको जातीय बन्धनले कदाचित् रोक्ने छैन। यो समाजले भन्ने जुनुसुकै जातको मान्छे भएपनि म झ्याई-झ्याई पञ्चे बाजा बजाएर विवाह गर्न चाहान्छु। किनकी मेरो मन र मष्तिष्कमा यो स्पष्ट छ कि म पनि मान्छे र उ पनि मान्छे। म त मानवताले भरिएको समाज रुचाउने चेतनशील प्राणी। यसो हो भने म यो चेतनालाई समाजका कुतर्कको बाछिटाले छुन किन दिने ?

अलि तितो पनि छ है फेरि, मैले यसो भनिरहँदा र यो वास्तवमै गरिरहँदा म बस्ने समाजका मान्छेले मलाई घृणा गर्नेछन्। मलाई मान्छेको दर्जाबाट खसाउने छन्। मेरा अधिकारहरु छिन्ने प्रयास गर्नेछन्। बा(आमा प्रतिको मेरो सम्मानमा रोक लगाउने प्रयत्न गर्नेछन्। फेरि यो मेरो मात्र समस्या हैन, सिंगो जातीय विभेद बोकेको मेरो देशकै समस्या हो।

तर म डराउँदिन, लड्नेछु समाजसँग र उठ्नेछु शिर ठाडो पारेर। किनकी म यहाँ विद्रोह, गाँजा र चरेस खानका लागि गरि रहेकी छैन। मान्छेलाई मान्छे बन्न प्रेरित गरिरहँदा मलाई कसैले तिरस्कार गर्छ भने त्यो उसको साँघुरो सोच हो। सकरात्मक पाइला चाली रहँदा जसले जे भनोस् मलाई वास्ता छैन, त्यतिबेला मलाई मौन आनन्द आउनेछ।

ती सबै जोखिमहरु म एक्लै मोल्नेछु। शिरमाथि सबै भारीहरु बोक्नेछु र चाल्नेछु पाइला परिवर्तनका खातिर। किनकी परिवर्तन आफैंबाट सुरु गर्न सक्नुपर्छ। मलाई लाग्छ म आफ्नो सिद्धान्तमा अडिग छु र नहुनु पर्ने कारण पनि छैन। यसैले म अन्तर्जातीय विवाह गर्न चाहान्छु र सक्छु पनि।

मलाई एक जना दाइले भनेको कुरा याद आयो ‘जे होस् विवाह जातमै गर्नुपर्छ जस्तो लाग्छ। कताकता आफूभन्दा सानो जातसँग अलि अर्कै लाग्छ।’

त्यो सोच संकुचित हो दाइ, जब तपाईको मानसिकता फराकिलो हुन्छ तब तपाईले जातभन्दा पहिले मान्छे देख्नु हुनेछ अनि केको असहजरु मैले यही उत्तर दिएकी थिएँ। त्यसपछि उहाँ सहमत हुनुभयो या भएन, थाहा भएन तर उहाँ बोल्नु नै भएन।

फेरि अन्तरजातीय विवाहमा असहजताका कुराहरु आउँछन्। होला हिजो प्रत्येक व्यक्ति, प्रत्येक थर र घरका संस्कारसँग अन्तर्घुलित थिएनौँ। तर आज हामी प्रत्येक मानिस एक-अर्काका थर र संस्कारसँग अन्तर्घुलित छौँ र परिचित छौँ। भाषाले हामीलाई भावनात्मक रुपमा एक अर्कालाई नजिकबाट चिन्न, नजिक जोड्न र आत्मीयता बढाउनमा मद्धत गरेको छ। हामीले थर-थरका साथी देख्यौँ, भेट्यौँ, संवेदना बुझ्यौं, भावना बुझ्यौँ अनि केको अफ्ठ्यारो ? भिन्न संस्कृती बोकेको परिवारसँग घुलमील हुन ?

यसैले यो समाजलाई समतामूलक समाज बनाउने एउटा बलियो र दिगो आधार स्तम्भ भनेको अन्तरजातीय विवाह नै हो। फरक-फरक भाषा, संस्कृती र संस्कारले एक आपसमा जोड्नुका साथै अपनत्व समेत महशुस गराउँछ। एकअर्का प्रतिको हिन भावनालाई दूर गर्नुका साथै अन्तर–सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।

जातीय दरार अन्त्य हुँदै जानेछ। एक जातले अर्को जातका मानिसबीच सम्बन्ध गास्दै जाँदा अन्तरजातीय सम्बन्धको दूरी घट्दै जानेछ। फेरि जातीय भाषा, संस्कृती र संस्कार संर्वद्धनका कुराहरु उठ्लान्। तर एक पटक सोचौँ त, जातीय विवाहले चाही कत्तिको संर्वद्धन गरेको छ ?

जब त्यसप्रति माया र उच्च सम्मान बढेर आउँछ तब अन्तरजातीय विवाहले पनि त्यसको संर्वद्धन गर्नमा कुनै कसुर बाँकी राख्ने छैन। यो कुनै समस्या नै हैन। साथै जातको सुरुआतदेखि लिएर यसको निरन्तरतासम्मका कुराहरु पर्लान्। यो बहसको पाटै छुट्टै हो। सिकाईका कुरा, पुस्ता हस्तान्तणमा हुने सञ्चारमा भर पर्छ। त्यसमा यहाँसम्म मात्रै जाउँ।

आउनुहोस्, हिम्मत गरौँ छुवाछुत अन्त्य गर्ने अभियानका प्रति। प्रेम अन्तरजातीय मात्रै हुन्छ नै भन्ने हुँदैन तर जातकै आधारमा कुनै प्रेमले अन्याय पाउनु भने हुँदै हुँदैन। जातीय विभेदलाई साँच्चै जराबाटै निर्मूल पार्ने हो भने आजको पुस्ताले अन्तरजातीय विवाह गर्ने आँट गर्नु पर्छ नै पर्छ।

एक पटक सोचौँ त हामी केके कुरामा विद्रोह गर्न सक्छौँ र केकेमा सक्दैनौँ। आफ्नो सुख, सुविधा र आफ्नो अनुकूलताका लागि सक्छौँ त हैन र ? अनि आफ्नो सानो प्रयासले समाजलाई सत्मार्ग तर्फ डोहोर्याउँछ भने किन नसक्नेरु आफूले लिएको शिक्षा माथिनै धावा बोल्ने समाज छ भने प्रश्न गर्ने बानी बसालौँ यो समाजलाई।

क्रान्तीकारी विचार बिना देश र समाज परिवर्तनको कल्पना गर्नु अवास्तविक हुन्छ। परिवर्तन सहज छैन। परिवर्तनका निमित्त, चलि आएको समाजलाई केही फरक बनाउनका निमित्त, कसै न कसैले केही बढी सहनै पर्छ, कसैन कसैले केही बढी गर्नैपर्छ। हाम्रो विचारले एउटा सभ्य र न्यायपूर्ण समाज निर्माण हुन्छ भने हामी किन पछि हट्ने ?

आउनुस् मेरो पुस्ताका साथीहरु, हामी गरौँ केही बढी र साँच्चै हामीले चाहेको समतामूलक समाज निर्माण गरौँ। यो मिश्रित समाजको कल्पनालाई विपनीमा अनुभव गर्न सक्ने बनाउने जिम्मावारी मेरो पुस्ताको भागमा परेको छ। आउनुस् सबै बाधा र अड्चनका बाहानालाई कुल्चेर समता झल्किने समाज हेर्नलाई केही जोखिम बोकौँ। आफ्ना आफ्ना प्रेमलाई विवाहमा परिणत गर्ने शाहस जुटाऊँ।

हिजो जातीय विभेद समाजिक समस्या हो भन्दा धेरै नम्बर पाइन्थ्यो याद छ ? अनि त्यो समस्या अन्त्य गर्ने कसले नि ? भोलि फेरि यही पढाउने हाम्रा सन्तानलाई पनि ? सजिलो छैन होला तर आफूले बुझे र जानेको कुरालाई व्यवहारमा उतार्नै सकिदैँन भने किताबी ज्ञान र टपर हुनुको अर्थ के र ?

जबजब म यस्ता विभेदका अमानवीय, क्रूर घटनाहरु सुन्छु तब मलाई आफू यो समाजको मान्छे हुनुका प्रति लाज लागेर आउँछ। कुन आधारले मान्छले आफूलाई ठूलो दर्जा दिन्छ, अचम्म लाग्छ। यस्ता निकृष्ट सोच राख्ने मान्छेमा ठूलो हुनुको दम्भलाई प्रमाणित गर्ने आधार के ? मात्रै परम्परा ? यो बलियो प्रमाण होरु भन्दा, उत्तर केरु

बाहिर भन्नु पो हुँदैन जातले फरक पार्छ नै पार्छ, भन्नेको जमात देखेर दुख लाग्छ। यति निच सोचलाई हामीले फाल्नु जरुरी छ। म स्तब्ध हुन्छु यस्ता घटनाहरुबाट र मलाई हेय बोध हुन्छ। अनि प्रतिबद्धता झन् दरो बनाउने आत्माबल बढेर आउँछ। मैले मबाट हुनसक्ने केही योगदान परिवर्तनका नाममा दिन सकिनँ भने म र मेरा कयौँ भावी सन्तानले नवराजहरु मरेका समाचार सुनि रहनु पर्नेछ, भोगी रहनु पर्नेछ।

हाम्रो शिक्षित पुस्ताले यो बुझेर पनि विभेदलाई नकार्न सकेनौँ भने जरा गाडी सकेको यो विभेदलाई उखेल्न कुनै पुस्ताले सक्ने छैन। झन् मलमल मिल्दै जानेछ। सामाजिक व्यवस्था त्यस्तै कायम हुनेछ घर बाहिर सब ठीक भित्रभित्र जात भनेको जातै हो है भन्ने किसिमको।

सयौँ वर्षसम्म पनि मेरो पुस्ताले छरेको बीउले धेरै विरुवाहरु उमार्नेछन् र जरो बलियो हुनेछ। जसबाट परिवर्तन र सामाजिक सद्भाव कायम रहेको समाज फूलीरहेको हुनेछ। भाषा, संस्कार र सस्कृतीमा सहिष्णुताको भावना बढ्दै जानेछ। त्यो सपनालाई साकार पार्ने परिवर्तका निम्ती पहिलो पाईला म चाल्नेछ। आउनुस् तपाईँ पनि चाल्नुस्। बसालौँ नजिर र प्रेरित गरौँ सबैलाई।

फेरि मैले यो पाईला चाल्ने आँट गरिनँ भने भोलिका विद्रोही पुस्ताले मेरो बुझाईलाई गिज्याउने छन्। आज अन्तरजातीय मागी विवाहको कल्पनासम्म गर्छु म। तर पहिलो प्रकृया प्रेम विवाहलाई स्वीकार्न सक्नु हो। जुन आजको आवश्यकता हो। यो पुस्ताले प्रेम विवाह गर्न सके अर्को पुस्ताले अवश्य मागी विवाह सहजै गर्न सक्नेछन्। किनकी एउटा बाटो हामीले कोरीसकेका हुनेछौँ।

-सेतोपाटीबाट

Facebook Comments

Leave A Reply

Your email address will not be published.