News of Nation

अविरल वर्षाका कारण यी क्षेत्र उच्च जोखिममा

काठमाडौं, २६ असार–अविरल वर्षासँगै नेपालका विभिन्न स्थानमा बाढीपहिरो चल्‍दा मानवीय र भौतिक क्षति हुन थालेको छ। यो सातामात्रै देशका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण डेढ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेको छ। लगातार बाक्लो मनसुनी बर्षा भएपछि यतिखेर देशका खोला(खहरेमा आकस्मिक रुपमा पानीको बहाव बढेको छ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतवारसम्म कन्काई, कोशी, कमला, वाग्मती र नारायणी नदी तथा तिनका सहायक नदीमा पानीको बहाव बढ्ने खतरा छ। आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव बढ्ने र सतर्कता आसपास हुने र केहीमा पानीको सतह खतारको तहसम्म पुग्न सक्नेछ।

बिहिबार कन्काई, कमला र बागमतीका केहि स-साना सहायक नदी लगायत प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी,सर्लाही र आसपास जिल्ला भई बहने स-साना नदीमा आकस्मिक बहाव देखिएको छ। यस्तै, भारतीय सीमा आसपास भारी वर्षाको पूर्वानुमान रहेकाले डुबान भइरहने होचा स्थान र नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

‘यता गण्डकी प्रदेशका विभिन्न स्थान कास्कीको पोखरा, लुम्लेलगायतका धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र नजिकका क्षेत्रमा ठूलो वर्षा मापन गरिएको र थप वर्षा हुने सम्भावना रहेको छु, प्राधिकरणले जारी विज्ञप्तीमा उल्लेख छ। सबै प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को तराईको भु-भागमा बाढीको जोखिम रहेको जानकारी दिएको छ। इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरी आसपासका साना खोलामा ३६ घण्टा आकस्मिक बहावको जोखिम हुन सक्ने बताइएको छ। पहाडी भु-भागको रातो पहेँलो भागमा आकस्मिक बहाव हुनको साथै सो आसपास पहिरोको जोखिम उच्च रहेको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.