News of Nation

कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएको रूसी विश्वविद्यालयको दावी

खोप विकासका लागि शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा, १३९ वटा खोप परीक्षणमा

काठमाडौं, २८ असार–रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

‘खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’ का सवयमसेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ’, इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ ।

क्लिनिकल अध्ययनका लागि औषधि दिइएका स्वयमसेवकहरूको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ९ जुलाई १५० मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने उनले बताए ।

‘उक्त विश्वविद्यालयले रूसकै ‘गमलेई इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’ संस्थाले जून १८ मा निर्माण गरेको खोपको क्लिनिकल परीक्षण गरेको हो । सेचेनोभ विश्वविद्यालयले कोरोना भाइरसविरूद्ध विश्वको पहिलो खोपको स्वयमसेवकमा सफलतापूर्वक परीक्षण पूरा गरिसकेको छ’, तारासोभले भने ।

‘यो चरणको अध्ययनको उद्देश्य मानव स्वास्थ्यमा खोपको सुरक्षालाई पुष्टि गर्नु रहेको र यो सफलतापूर्वक सम्पन्न भएको छ’, सेचेनोभ विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी, ट्रपिकल एण्ड भेक्टर–वर्न डिजिजेज’का निर्देशक अलेकज्याण्डर लुकाशेवले भने ।

स्पुटनिकले लुकाशेभलाई उद्धृत गर्दै लेखेको छ, ‘खोपको सुरक्षाको पुष्टि भइसकेको छ । यसले हाल बजारमा रहेका अन्य खोपले जस्तै सुरक्षाको प्रत्याभूत गर्छ ।’

लुकाशेभको दावी छ, ‘खोपको थप विकास योजना भाइरसको महामारीको जटिलता र उत्पादन बढाउने सम्भावनासहित विकासकर्ताको रणनीतिले पहिले नै निर्धारण गरिसकेको छ ।’

महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधि जस्ता महत्वपूर्ण र जटिल अत्पालनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ । ताराशेभले भने, ‘हामीले यस खोपको क्लिनिकल अध्ययनभन्दा पहिले प्रिक्लिनिकल तथा प्रोटोकल निर्माण र हाल भइरहेको क्लिनिकल परीक्षणमा सहकार्य गरेका थियौं ।’

कोरोना खोप विकासका लागि शक्तिराष्ट्रहरुको प्रतिष्पर्धा
कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । कडा लकडाउन, व्यापक परीक्षण गरी भाइरस नियन्त्रण गरिएका मुलुकमा समेत महामारीको दोस्रो, तेस्रो लहर चल्ने भय व्याप्त छ ।

जबसम्म भाइरसलाई रोक्ने खोप उपलब्ध हुँदैन, तबसम्म जनजीवन पूर्ववत् बन्न नसक्ने विज्ञहरु बताउँछन् । त्यसैले खोप निर्माणका लागि विभिन्न मुलुकबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल २१ वटा खोप ‘क्लिनिकल’ परीक्षणको चरणमा प्रवेश गरिसकेका छन् । त्यस बाहेक पनि १३९ वटा खोप परीक्षणमा छन् ।

कोरोनाविरुद्धको खोप विकासमा खासगरी चीन, अमेरिका र बेलायतबीच प्रतिस्पर्धा देखिएको छ । जसमध्ये चीन सबैभन्दा अगाडि छ । मानिसमा परीक्षण थालिएका १९ खोपमध्ये ८ वटा चीनका हुन् । तीमध्ये सबैभन्दा अगाडि सिनोभाक र क्यानसिनोका खोप छन् ।

रासस–एएनआई

Facebook Comments

Leave A Reply

Your email address will not be published.