News of Nation

झापामा बाढीका कारण ज्यान गुमाएका ५ परिवारले १ लाख पाउने

भद्रपुर, ३० असार–जिल्ला प्रशासन कार्यालय झापाले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सोमबार बसेको बैठकले तीन महिना यता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढीको प्रकोपबाट गत बैशाख २० गते अर्जुनधारा नगरपालिका–२ सातकटेरीका ६५ बर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका–६ रुपचनबाडीकी १८ बर्षीया अनुसा टुडु, शिवसतासी–८ का ३ बर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका–५ का ३४ बर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका–५ का राजेश गणेशको मृत्यु भएको थियो ।

उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारको विपद व्यवस्थापन कोषबाट समेत प्रति परिवार रु एक लाखको दरले राहत दिइने व्यवस्था छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.