News of Nation

सिंहदरबारमा १७ स्थायी कमिटी सदस्यको भेला, पार्टी विधिमा चलेन, कोरोना नियन्त्रणमा सरकार असफल

काठमाडौं, ३१ असार–पार्टी कमिटीको बैठक स्थगित भएपछि नेकपाका स्थायी कमिटी सदस्यहरू छुट्टाछुट्टै बैठक राखेर नेतृत्वलाई दबाब दिन थालेका छन् ।

११ जना स्थायी कमिटी सदस्य भेला भएर नेतृत्वलाई मिल्न दबाब दिइरहेका बेला १७ जना सदस्य सिंहदरबारमा भेला भएर पार्टी र सरकार दुवैको काम प्रभावकारी नभएको निष्कर्ष निकालेका छन् ।

सिंहदरबारमा बुधबार बसेको अनौपचारिक भेलाले पार्टीलाई विधि, विधानमा चलाउन नेतृत्वको ध्यानकर्षण गराएको रघुजी पन्तले जानकारी दिए ।

“२० जनालाई आमन्त्रण गरिएको थियो । त्यसमध्ये ३ जना उपत्यका बाहिर भएकाले आउन पाउनुभएको,” पन्तले भने, “सुरेन्द्र पाण्डे चितवन र भीम आचार्य पूर्व भएकाले आउन पाउनुभएन । चक्रपाणि खनालसँग सम्पर्क हुन सकेन । अरू १७ जना स्थायी कमिटीका साथीहरू सबैले खुलेर आफ्ना कुरा राख्नुभयो । बैठक गतिरोधको सिकार भयो । बैठक यसरी रोकिराख्नु भएन भन्ने कुरामा उहाँहरूको जोड थियो ।”

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको समझदारी पर्खिएर बस्ने कुरा नआउने भन्दै बैठकलाई अगाडि बढाउनुपर्ने कुरा आएको पन्तको भनाइ थियो ।

“बैठकलाई पारदर्शी बनाउनुपर्छ । स्थायी कमिटीले विधिसम्मत निर्णय गरेर जानुपर्‍यो । पार्टी विधि, विधानअनुसार चलाउनुपर्‍यो । विधान, विधिलाई बेवास्ता गरेकैले यो समस्या निम्तिएको हो भन्नेमा सबै एकमत हुनुहुन्थ्यो,” उनले भेलाबारे प्रकाश पार्दै भने, “विधि, पद्धति स्थापित गर्ने कुरामा जोड दिने कुरा नै मुख्य रूपमा उठ्यो ।”

बाढी, पहिरोपीडितहरूलाई राहत प्रभावकारीरूपमा वितरण हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको पन्तले बताए । उनले मुलुकका विभिन्न भू–भागमा बाढी, पहिरोबाट आक्रान्त भएको र उनलाई तत्कालै राहतको व्यवस्था गर्न आग्रह गरिएको उनले बताए ।

“सरकारले अहिले जसरी, जुन मापदण्डका आधारमा राहतको व्यवस्था गरिरहेको छ । त्यो प्रभावकारी छैन,” उनले भने, “त्यो राहत पर्याप्त पनि छैन । पीडित जनताले अनुभूत पनि गर्नुपर्‍यो । उनीहरूलाई तत्कालका लागि जीवनयापन सम्भव हुनुपर्‍यो ।”

कोरोना सङ्क्रमण अर्को चरणमा पुग्दा भेन्टिलेटर, आईसीयूको सङ्ख्या बढाउनुपर्ने भएता पनि सरकारको ध्यान नपुगेको भेलाको निष्कर्ष थियो । “भेन्टिलेटर, आईसीयूको सङ्ख्या बढाउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको ध्यान जानुपर्‍यो,” पन्तले भने, “त्यो काममा प्रदेश र स्थानीय सरकारलाई पनि लगाउन संघीय सरकारले भूमिका खेल्नुपर्‍यो । अहिले क्वारेन्टिनमा सर्पलगायतका जीवजन्तु आउने, महिला असुरक्षित हुने जुनखाले अव्यवस्था देखिएको छ, त्यसलाई तुरुन्तै व्यवस्थित तुल्याउनुपर्छ भन्ने आवाज उठेको छ ।”

आजको भेलाले पीसीआरको मात्रा बढाउन र परीक्षणको दायरा बढाउन सरकारको ध्यान पुगोस भनेर ध्यानकर्षण गरिएको उनले बताए । भेलामा सहभागी मणि थापाले पनि सरकार र पार्टीको कामलाई प्रभावकारी बनाउन अनौपचारिक चिया भेलाको आयोजना गरिएको जानकारी दिए । भेलामा गोकर्ण विष्ट, जनार्दन शर्मा, देवेन्द्र पौडेल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, देव गुरूङ, पम्फा भुसाल, मणि थापा, गणेश साह, मातृका यादव, लिलामणि पोखरेललगायत नेताहरू उपस्थित थिए ।

केही दिनअघि स्थायी कमिटी सदस्य घनश्याम भुसालले ११ जना स्थायी कमिटी सदस्यहरू बोलाएर छलफल गरेका थिए । छलफलको निष्कर्ष प्रधानमन्त्री केपी ओलीलाई लगेर सुनाउँदै भुसालले पार्टी एकताका लागि दुई अध्यक्ष लचिलो हुन सुझाव दिएका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.