News of Nation

साग विजेता खेलाडीलाई प्रदेश १ सरकारको सम्मान

बैंक खातामै पुग्यो रकम

विराटनगर, ३१ असार–तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का विजेता खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ ।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरूप बुधबार प्रदेश सरकारले खेलाडीहरूलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिनुका साथै उपलब्ध खेलाडीहरूलाई सम्मान समेत गरिएको छ ।

सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरू विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरूलाई प्रदेश सरकारले पुरस्कारसहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरूलाई ८० लाख नगद उनीहरूको खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरूले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरूको खेल क्षेत्रमा हौसला बढेको बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र सान बढाएको बताए ।

उनले भने, “प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको छ ।” उनले खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरू विनियोजन गरेको समेत बताए । खेलाडीहरूलाई व्यावसायिक ढंगबाट अगाडि बढ्न समेत आग्रह गरे ।

उनले खेलाडीबाट सरकारले ठूलो आशा, भरोसा राखेको भन्दै खेलकुद क्षेत्र अब छायामा नपर्ने बताए । खेलकुद क्षेत्रमा राजनीतीकरण गर्न नहुने राईको भनाइ थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेसाका रूपमा लिनुपर्ने धारणा राखे ।

उनले भने, “साग पदक विजेता खेलाडीहरूका कारण प्रदेश सरकार गौरवान्वित भएको छ । खेलकुदलाई जीविकोपार्जनको माध्यमका रूपमा समेत लिनुपर्छ ।”

Facebook Comments

Leave A Reply

Your email address will not be published.