News of Nation

तपोभूमि रेसुंगामा एक महिने साउने मेला सुरू

काठमाण्डौं, १ साउन–​रेसुङ्गामा एक महिने साउने मेला सुरू भएको छ। कोरोना माहामारीकै बीच उच्च सर्तकता अपनाउँदै आज (बिहिबार) देखि मेला सुरू भएको हो। उच्च सर्तकताका साथ सामाजिक र भौतिक दुरी कायमा राख्दै पूजाआजा लगायतका कार्यहरू भइरहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।

यसअघिका वर्षहरूमा हुने भजन प्रतियोगिता र तीजगित प्रतियोगिता भने यो पटक आयोजना नहुने भुसालले बताए। रेसुङ्गामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नाले अहिलेसम्म गरिएका पापहरू नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। मेला अवधिभर धार्मिक प्रवचनसँगै रुद्री, चण्डी र शिवजीको दैनिक पूजा सञ्चालन लगायतका विविध कार्यक्रमहरू आयोजना गरिएको छ।

सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङ्गा धार्मिक, पौराणिक ऐतिहासिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको तपोभूमि मध्येको एक हो। पछिल्लो समय रेसुङ्गा पर्यटकीय क्षेत्रका रुपमा पनि चिनिन थालेको छ। समुन्द्र सतहबाट रेसुङ्गा क्षेत्र ८ सय मिटरदेखि २ हजार ३५० मिटरसम्म उचाइसम्म फैलिएको छ। यस पहाडको नाम रेसुङ्गा रहनुमा विभिन्न कारण र किम्बदन्तीहरू छन्। त्रेता युगमा महर्षि ऋषि श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने मानिन्छ।

गुल्मी लगायतका स्थान मगराँत क्षेत्र भएकोले मगर भाषामा ‘रेस’ अर्थात नुहाउनुमा उपसर्ग जोडेर रेसुङ्गा नामाकरण रहेको भन्ने भनाइ पनि छ। साथै श्रीकृष्णले रेसुङ्गामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसीहरूको वर्षे आश्रम रेसुङ्गा नै थियो भनेर भनिन्छ। महाप्रभु लक्ष्मी नारायणबाट निर्मित पोखरी हिन्दु धर्मालम्वीहरूका लागि सबै तीर्थ नदीको जलनिर्मित पोखरी हो। यस ठाउँमा हरिशयनी, हरिबोधिनी एकादशी र साउन महिनाभरी स्नान गर्नेहरूको भीड लाग्दछ। यस पोखरीमा नुहाउनाले पापहरू नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

रेसुङ्गाको शिरमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साँच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ, यसबाट हेर्दा गुल्मीका अधिकांश भू-भाग लगायत बाग्लुङ, स्याङ्जा, अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थानहरू स्पष्ट रुपले देख्न सकिन्छ। यसको महत्व र व्यापकतालाई बुझेर प्रचारप्रसार र संरक्षणका निम्ति केही समययता विभिन्न क्षेत्रबाट सक्रियता देखाइएको छ। साथै, समग्र विकासका लागि गुरुयोजना समेत तयार भइसकेको छ। यसलाई पर्यटकीय रुपमा विकास गर्नका लागि रेसुङ्गा नगरपालिकाले विभिन्न योजनाहरू बनाउँदै आएको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.