News of Nation

कसरी बन्ने असल अभिभावक ?

दिनेश अधिकारी

जब अल्बर्ट आइन्स्टाइन छ कक्षामा पढ्थे, त्यतिबेला उनको आमालाई विद्यालयबाट एउटा पत्र आयो जसमा लेखिएको थियो-‘तिम्रो छोराले पढ्न सक्दैन, उसको अरु विद्यार्थीसँग स्तर पनि मिल्दैन, त्यसैले भोलिबाट उसलाई विद्यालय नपठाउनू।’

आइन्स्टाइनको आमाले यस्तो पत्र पाएपछि निकै दुखी भइन्। उनलाई यो कुरा आफ्नो छोरालाई सुनाउन निकै गाह्रो भयो।

धेरै सोचेर उनले यो कुरा आइन्स्टाइनलाई फरक तरिकाले यसरी भनिन्ः बाबु तिम्रो पढाइको स्तर विद्यालयमा अरुको भन्दा निकै अब्बल छ रे ! विद्यालयले तिम्रो स्तरलाई पढाउन सक्दैन रे ! त्यसैले तिमी भोलिबाट घरमै बसेर पढ्नू ! तिमी अबदेखि विद्यालय जान पर्दैन।

आइन्स्टाइनले आमाको यो कुरालाई पूर्ण विश्वास गरेर घरमै बसेर आफ्नो अध्ययनलाई अगाडि बढाउने निधो गरे। आज तिनै अल्बर्ट आइन्स्टाइन भौतिक विज्ञानको वैज्ञानिकका रूपमा संसारभर प्रख्यात छन्।

यसको मतलब बालबालिकालाई विद्यालय नपठाउनु भन्ने होइन। यदि हामीले बालबालिकालाई घरमा सकारात्मक ऊर्जा दिने र उनीहरूलाई पूर्ण सहयोग गर्ने हो भने त्यसले उनीहरूलाई धेरै ऊर्जा दिन्छ र उनीहरू जीवनमा सफल हुन सक्छन् भन्ने हो।

त्यसैले त एन्थोनी जे डिएन्जेलोले भनेका छन्,‘सिकाइ र शिक्षाको लागि रुची बनाइराख्यौ भने तिमीलाई अगाडि बढ्नको लागि कसैले रोक्न सक्दैन’।

हामीले के कुरा मनन गर्न अत्यावश्यक छ भने, हामीले आफ्ना बाबुनानीहरूलाई कत्तिको समय दिने गरेका छौं ? उनीहरूले आफ्ना समस्या तपाईंसामु प्रस्तुत गर्न सकेका छन् कि छैनन् ? उनीहरूको दैनिकी कसरी नियालिरहनु भएको छ ? खेल्न, खान, मनोरन्जन गर्न, समाजमा घुलमिल हुन, आदिको लागि तपाईंको भूमिका के रहेको छ ? यो कुरा मनन गर्न अपरिहार्य छ।

आजको परिस्थिति, समय र व्यस्तताको कारण दिनभरको थकानले अभिभावकहरूले धेरै समय आफ्नो बालबालिकाहरूलाई दिन सकिरहनुभएको छैन, जसले गर्दा उनीहरूमा पनि नैराश्यता पैदा भएको छ।

मैले यहाँ रवीन्द्रनाथ टैगोरले भनेको एउटा भनाइ जोड्न चाहें।

उनले भनेका छन्, ‘आफ्नो बच्चालाई आफूले सिकेको ज्ञानमात्र दिन नखोज, किनभने ऊ तिमीभन्दा फरक समयमा जन्मिएको हो’।

यसको मतलब हामीले जे जानेको छ, सिकेको छ त्यही बच्चाले सिक्नु पर्छ भन्ने छैन। ऊसँग फरक विचार, कल्पना र प्रतिभा पनि हुन सक्छ जुन हामीले थाहा पाउनुपर्छ।

जन्मदै सबैले यौटा न यौटा प्रतिभासँगै लिएर आएका हुन्छन् जुन हामीले देखेका हुँदैनौं तर उनीहरूसँगको आत्मीयताले हामीले विस्तारै थाहा पाउन सक्छौं।

हाम्रो सन्तानहरूको उज्ज्वल भविष्यनै हामीले गरेको श्रम, लगानी र मेहेनतको मीठो फल हो।

हामी सबैलाई थाहा छ बारीमा उम्रेको मकैको बिरुवालाई राम्रोसँग गोडमेल गरेर, मलजल गरेपछि मात्र त्यसै राम्रो घोघा उत्पादन गर्छ नत्र त्यो घोघा नलाग्दै विस्थापित भएर जान्छ।

त्यसैले हामीले आफ्ना बालबालिकाहरूलाई पनि समयमा नै राम्रो संस्कार, असल बानी अनि अनुशासनको लागि राम्रोसँग मलजल गर्न सके पक्कै पनि उनीहरूको असल भविष्य निर्माण हुन्छ।

अब म असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा तल केही बुँदा प्रस्तुत गर्दैछु।

घरको वातावरणः घर, बालबालिकाहरूको पहिलो पाठशाला हो भने बाबाआमा जिन्दगीको पहिलो गुरु हुन्।

बालबालिकाहरू धेरै समय घरमा नै रहन्छन्। यदि घरको वातावरण शान्त र सहज छैन भने उनीहरूले आफ्नो ध्यान पढाइमा वा अन्य खोजमूलक कुराहरूमा दिन सक्दैनन्।

परिवारका सदस्यबीचको मनमुटाव र झगडाले उनीहरूको मानसपटलमा निकै ठूलो चोट पार्न सक्छ।

तपाईंले घरमा गर्ने व्यवहार, बोल्दा प्रयोग गर्ने भाषा, तपाईंको हिँड्ने तरिका, खाना खाने शैली, झर्कने वा रिसाउने बानी यी सबै तपाईंको बालबालिकाहरूले नक्कल गरिरहेका हुन्छन्।

त्यसैले आफ्ना यस्ता बानी र प्रवृत्ति तुरून्तै हटाउनुहोस्। हामीले के कुरा बुझ्न जरूरी छ भने बालबालिकाहरूले आफूभन्दा ठूला व्यक्तिले भनेको कुरा ध्यानपूर्वक सुन्दैनन्, तर आफूभन्दा ठूला व्यक्तिले गरिरहेको काम र व्यवहार ध्यानपूर्वक नियालिरहेका हुन्छन्।

बालबालिका कुमालेको माटोको डल्ला जस्तै हुन्। परिवारको वातावरण र अभिभावकको व्यवहारले नै बालबालिकाहरूलाई आफूले चाहेको जस्तो आकारमा बदल्न सकिन्छ।

सामाजिक सम्बन्धः

परिवार-परिवार मिलेर समाज र समाज(समाज मिलेर समुदाय बन्छ भन्ने कुरा राम्रोसँग सिकाउनुहोस्। जब उनीहरूले घरमा राम्रो संस्कार र अनुशासन सिक्छन्। तब उनीहरूले समाजमा सबैलाई राम्रो व्यवहार गर्न सक्छन्। आजको समाज विस्तारै स्वार्थीहुँदै गइरहेको छ।

गाउँमा र सहरमा यसले राम्रै जरा गाडिसकेको छ। आज वल्लो घर र पल्लो घरबीच बोलचाल छैन। आफ्नै दाजुभाइ र दिदीबहिनीबीच राम्रो आउजाउ छैन। सानोभन्दा सानो कुरामा ठ्याक्ठुक छ। घन्टौसम्म हामी आफ्नै परिवारका सदस्यहरूको कुरा काटेर बस्छौं। धर्म र संस्कृति अनि तल्लो जात र माथिल्लो जात भनेर धेरै विभेदको कुरा सिकाउँछौं । यसले हामीले भन्ने गरेको भविष्यको कर्णधारहरूलाई कतातिर लान्छ ? मनन गरौं।

पर्याप्त समयः

हामीले हाम्रा बालबालिकाहरूलाई कति समय दिने गरेका छौरु आज तपाईंले चिया पसल र चोक-चोकमा बसेर अनावश्यक रूपमा बिताउने समय उनीहरूलाई दिने गर्नुहोस्। घरमा बस्दा श्रीमान र श्रीमती वल्लो कुना र पल्लो कुना वा वल्लो कोठा र पल्लो कोठामा बसेर मोबाइल, ल्यापटप, टेलिभिजन हेर्नेभन्दा कम्तिमा उनीहरूसँग नजिकिने प्रयास गरौं र हेर्ने परे पनि उनीहरूसँगै बसेर हेर्ने गरौं। बालबालिकासँग साथीको जस्तो व्यवहार गरौं ताकी उनीहरूले हरेक कुराहरू सजिलै यहाँहरूलाई भन्न सकुन्।

दिनभर विद्यालय वा घरमा बसेर केके गरे ? केके खाए ? केके हेरे ? केके पढे ? हरेक दिन सोध्ने बानी गर्नुहोस् । सक्नुहुन्छ भने घरमा उनीहरूसँग नाच गानमा पनि सरिक हुने गर्नुहोस् र गराउनुहोस् जसले गर्दा उनीहरूले घरमा तपाईंको उपस्थितिलाई विशेष मानुन्।

सिकाइप्रतिको अभिरुचिः

आज हरेक अभिभावकले आफ्नो बालबालिकाले धेरै समय पढोस् भन्ने चाहना राख्नुहुन्छ र राख्नु पनि पर्छ। तर यसो भन्दैमा उनीहरूलाई जबरजस्ती हरेक समय कापी र किताबमात्र हातमा राखेर बस्न बाध्य नबनाउनुहोस्। यसले गर्दा उनीहरूमा पढ्ने रुचि बढ्ने होइन बरु घटेर जान्छ। सकेसम्म उनीहरूलाई आफैंले मैले अब पढ्नु पर्छ, मेरो अब पढ्ने समय भयो, अब म केही समय ध्यान दिएर पढ्छु भन्ने जब बोध गर्छन् तब पढाइ पनि प्रभावकारी हुन्छ।

जबरजस्ती होइन स्वतः

स्फुर्त पढ्न प्रेरणा प्रदान गर्नुहोस्। सिकाइप्रति अभिरुचि बढाउन मिल्छ भने आफू पनि उनीहरूसँगै सिकाइमा सरिक हुनुहोस्।

पढ्ने समय भनेको नि एउटा मनोरन्जनको नै समय हो भन्ने महशुस गराउन हामीले केही समय इन्टरनेटको सहायताले श्रब्य दृश्य सामग्रीमार्फत् उनीहरूलाई पठनपाठनमा सरिक गराउन सकिन्छ। जब सिकाइप्रति अभिरुचि बढ्छ तब मात्र सिकाइ प्रभावकारी बन्छ।

घरायसी काममा सरिकः

हामीले हाम्रा बालबालिकाहरूलाई सिकाउन पर्ने कुरा धेरै छन्। पठनपाठन मात्र हैन, जीवन निर्वाहको लागि अति आवश्यक कुरा सिकाउनु हाम्रो मुख्य कर्तव्य हो।

हरेक आमाबाबुले आफ्नो छोराछोरीलाई दैनिक जीवनमा आफ्ना लागि गर्नुपर्ने काम सिकाउन पर्छ जस्तैस् घर तथा किचन सफा गर्न, खाना पकाउन, लुगा धुन, आदि।

बालबालिकालाई होच्याएर यो काम गर्न सक्छौ वा सक्दैनौ भनेर नभनिदिनुहोस्। यदि उसले गर्न सक्ने काम छैन भने उसलाई सम्झाएर त्यो काम गर्न ऊ किन सक्दैन त भनेर कारणसहित बुझाइदिनुहोस्। फ्रयांक ए। क्लार्कको एउटा चर्चित भनाइ छ , ‘आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउनुपर्ने कुरा हो-‘अभिभावकबिना कसरी बाँच्ने, कसरी जीवनमा अगाडि बढ्ने’।’

त्यसैले हामीले हाम्रा बाबुनानीहरूलाई सबै कुरामा उनीहरूलाई सक्षम बन्न सिकाउनु पर्छ।

अन्त्यमा, अहिले हाम्रा बालबालिका घरमा नै ‘थुनिएर’ बसेको अवस्थामा यहाँ प्रस्तुत गरेको केही कुरालाई मात्र ध्यान दिन सकियो भने पनि हामीले हामी असल अभिभावक भएको महशुस गर्न सक्ने छौं कि !

-सेतोपाटीबाट

Facebook Comments

Leave A Reply

Your email address will not be published.