News of Nation

अध्यक्ष प्रचण्डद्धारा पूर्व माओवादी नेताहरुसँग खुमलटारमा छलफल, बादल र भट्ट अनुपस्थित

काठमाडौं, ५ साउन–पार्टीभित्रको विवादको गाँठो झन कसिंदै गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समस्या समाधानका लागि थप सक्रिय भएका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले आफू निकट नेताहरुलाई खुमलटार बोलाएका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् ।

प्रचण्ड निवास खुमलटारमा भएको भेलामा गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बाहेक पूर्व माओवादी पक्षधर सबै स्थायी कमिटी सदस्यहरुको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले पूर्व माओवादी समूहका नेतालाई एक जुट बनाउन बैठक बोलाएको स्रोतले जानकारी दिएको छ । । पछिल्ले समय गृहमन्त्री बादल र मन्त्री भट्ट प्रधानमन्त्री ओलीको पक्षमा देखिएकाले अध्यक्ष प्रचण्डले एकजुट बनाउन भेला बोलाएका हुन् ।

पूर्व माओवादी निकटका स्थायी कमिटी सदस्यहरु कोही प्रधानमन्त्री निकट लागेका छन् भने कोही ओली र प्रचण्ड मिल्नु पर्छ भन्ने पक्षमा देखिएका छन् । आइतबारको खुमलटार बैठकमा गृहमन्त्री बादल र मन्त्री भट्ट अनुपस्थित थिए ।

आइतबार सचिवालयका ५ जनासहित १४ स्थायी कमिटी सदस्यसँग परामर्श गरेका प्रचण्डले सोमबार बिहानै पूर्व माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसँग खुमलटार निवासमा छलफल गरेका हुन् । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावमाथि प्रचण्डले समर्थन जनाएको समाचार सार्वजनिक भएपछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको थियो ।

उता वरिष्ठ नेता माधवकुमार नेपालले समेत दुई अध्यक्ष मात्रै मिलेर, चोचोमोचो गर्न खोजे नमान्ने र राष्ट्रब्यापी कार्यकर्ता भेला गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रचण्डले आइतबार वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत १४ जना स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेर आफूले सो समूह छोडेर ओलीसँग कुनै सहमति नगर्ने प्रतिबद्धता जनाएका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.