News of Nation

सिटीको फराकिलो जित

एजेन्सी, १२ साउन–प्रिमियर लिग फुटबलको यो सिजनको अन्तिम खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले फराकिलो जित हात पारेको छ । आइतबार भएको खेलमा सिटीले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन खेलको ११ औँ मिनेटमा ग्रावियल जिजसले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा केभिन डी ब्रुयनाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ७९ औँ मिनेटमा सिटीका लागि रहिम स्टर्लिङले गोल गर्दै ३–० गोलको अग्रता बनाए । ८३ औँ मिनेटमा रियाद मिर्जाले सिटीका लागि चौथो गोल गरे ।

९० औँ मिनेटमा डी ब्रुयनाले सिटीका लागि पाँचौ गोल गर्दै क्लबलाई ५–० गोलको जित दिलाए । जितसँगै सिटीले ३८ खेलबाट ८१ अंक जोड्दै सिजनको अन्त्य गरेको छ । पराजित नर्विच सिटी यो सिजन रेलिगेसनमा परेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.