News of Nation

पोस्टपेड मोबाइलमा पैसा घट्यो ? यस्तो छ कारणः

काठमाडौं, ३० मंसिर–नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न योजना ल्याएको छ । कम्पनीले उपलब्ध गराएको यस्ता सुविधा लिन प्रत्येक महिना न्यूनतम ३८३.०७ रेण्टल शुल्क तिर्नुपर्दछ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकको हकमा भने यो रकम फरक हुन सक्ने कम्पनीले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको र अहिले पनि कायम रहेको जनाइएको छ । यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइने जनाइएको छ ।

पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकका प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको कम्पनीले जनाएको छ । ग्राहकले प्याक प्रयोग गर्दा यो रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ । सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको पनि देखिएको कम्पनीले जनाएको छ ।

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिने टेलिकमले जनाएको छ । कुनै ग्राहकले महिनामा सय रुपैयाँ मात्र प्रयोग गरेको भए पनि ३८३.०७ नै काटिने टेलिकमले जनाएको छ । यसरी ग्राहक २८३.०७ कता हरायो भनी झुक्किएको पाइएको टेलिकमले जनाएको छ ।

कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने भएता पनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको पाइएको छ, कम्पनीले भनेको छ ।

“उदाहरणका लागि, कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु २०० को प्याक प्रयोग गरेको छ भने प्याक वापतको रु २०० र रेन्टल चार्ज वापतको रु ३८३.०७ गरी रु ५८३.०७ तिर्नुपर्छ । मानौँ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु ४०० थियो भने सो रकम समेत काटिएर थप रु १८३.०७ समेत तिर्नुपर्ने हुन्छ,” प्रवक्ता राजेश जोशीले जनाएका छन् ।

पोस्टपेड ग्राहकको यही अन्योललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको उनले जनाएका छन् । “पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना हुँदैन” जारी विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.