News of Nation

भारतमा एकै दिन एक लाख ८४ हजार कोरोना संक्रमित, एक हजार २७ को मृत्यु

नयाँदिल्ली, १ बैसाख–भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८४ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ३८ लाख ७३ हजार नाघेको छ भने एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये महाराष्ट्रमा मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै उत्तर प्रदेशमा १७ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने छत्तीसगढमा १५ हजार र दिल्लीमा १३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारत अमेरिकापछि विश्वमै सबैभन्दा धेरै कोरोनाबाट प्रभावित मुलुक हो ।

भारतमा कोरोना संक्रमण बढिरहेको भए पनि मेला तथा चुनावी प्रचारजस्ता भिडभाड हुने कार्यक्रम भने रोकिएको छैन । बुधबार भारतको उत्तराखण्डस्थित हरिद्वारमा तेस्रो शाही स्नान चलिरहेको छ ।

प्रहरी महानिरीक्षक सञ्जय गुन्ज्यालका अनुसार बुधबार बिहानै करिब ६ लाख ५० हजार मानिसहरुले गंगा स्नान गरिसकेका छन् ।

गंगा स्नान गर्नेको संख्या अत्याधिक भएकाले उनीहरुलाई जनस्वास्थ्यको मापदण्ड पालना गराउन नसकिएको गुन्ज्यालले बताए ।

त्यस्तै भारतका विभिन्न चार राज्यको विधानसभा निर्वाचन प्रचारको क्रममा राजनीतिक दलहरुले आयोजना गरेका सभा तथा र्‍यालीले पनि कोरोना संक्रमण बढाउन सहयोगी भूमिका खेलेको बताइएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.