News of Nation

जनैपूर्णिमाः क्वाँटी खानुका फाइदा

जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् ।

जनैपूर्णिमामा टुसा उमारिएको क्वाँटी खाने जुन चलन छ, त्यो एकदमै राम्रो चलन हो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो । त्यसैले शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खानुपर्छ ।

चिया गिलासको एक गिलास भिजाएको गेडागुडी खानु उपयुक्त हुन्छ । त्यसरी चिया गिलासमा नाप्न सम्भव छैन भने ठिक्कको कचौराको एक कचौरा खानु राम्रो हो ।

गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व सजिलै प्राप्त गर्न सकिन्छ । भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । साँधेर पनि खान सकिन्छ त्यो मीठो र पोषिलो पनि हुन्छ ।

गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।

यसमा भएको फाइबरले गर्दा पनि यो खानै पर्छ । हामीले दैनिक खाने खानामा आइरन, क्याल्सियम र प्रोटिनको केही मात्रा त हुन्छ, तर फाइबर हुँदैन । त्यसैले हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ ।

बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ । पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ । त्यसैले क्वाँटी खानु स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो हुन्छ ।

वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु समय–समयमा खाइरहनुपर्छ अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ ।

-पोषणविद् आरेम कार्की

Facebook Comments

Leave A Reply

Your email address will not be published.