News of Nation

हल्दिबारी गाउँपालिका ताडफोड घटनाः एकापसमा आरोप-प्रत्यारोप

बिर्तामोड, ११ असार–झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हिजो असार १० गते गाउँसभामा भएको घटनाको जिम्मेवारी उपाध्यक्ष डम्बरबहादुर गिरीले लिनुपर्ने बताएका छन् ।

गाउँपालिका कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै लिङदेनले बजेट बाँडफाँड तथा चारकोसे जङ्गलको बाटोको नामाकरण गर्ने विषयमा उपाध्यक्ष गिरीले बहुमतको दम्भ देखाएर विपक्षी आवाज दबाउन खोज्दा घटना भएकाले उनले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने जिकिर गरेका हुन् ।

उपाध्यक्ष गिरीको नेतृत्वमा नीति तथा कार्यक्रम पास गर्नैपर्ने भन्दै आफूहरुमाथि हातपात गरी अभद्र व्यवहार गरेको तथा बहुमतको आड लिएर कानून हातमा लिने काम भएको अध्यक्ष लिङ्देनको आरोप छ । उनले गाउँपालिकामा तोडफोडमा उपाध्यक्ष गिरीकै संलग्नता रहेकाले कानूनी कारवाहीका लागि आफू प्रहरी प्रशासनमा जाने चेतावनी दिए ।

वडा नं। ४ का अध्यक्ष होमप्रसाद चुडालले उपाध्यक्षलगायत सदस्यहरुले बहुमतको बल देखाएर विभेद गर्दै ४ र ५ नं। वडालाई कम बजेट दिने, जलथलको चारकोसे जङ्गलको मौलिक पहिचान गुम्नेगरी सडकको नामाकरण गर्नेजस्ता विषयले गाउँपालिकामा द्वन्द्व सिर्जना भएको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा वडाध्यक्ष चुडालले उपाध्यक्षबाट भएको कमजोरी नसच्याएसम्म गाउँपालिकाले जनपक्षीय काम गर्न नसक्ने बताए ।

यसैबीच गाउँपालिका तोडफोड सम्बन्धमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँ समितिले आज संयुक्त विज्ञप्ती जारी गरी बहुमतको आडमा उपाध्यक्ष लगायतले लोकतान्त्रिक विचार माथि दमन गर्दै गाउँपालिकाका बासिन्दालाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन् ।

आजै अपरान्ह गाउँपालिका उपाध्यक्षसमेत बहुमत सदस्यहरुले पनि पालिकामा पत्रकार सम्मेलन आयोजना गरेकोमा प्रतिकूल मौषमका कारण अन्तिम समयमा आएर रोक्नु परेको जनाइएको छ । हिजो बजेट नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि अध्यक्ष लिङ्देनले बैठक छाडेर हिडेको तथा तोडफोडमा संलग्न भएको आरोप लगाएका थिए ।

बहुमत जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७७–०७८ का लागि प्रस्तुत गरिएको बजेट पारित गरेको हस्ताक्षरसहित विज्ञप्ती जारी गरेका थिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.