News of Nation

विभिन्न घटनामा प्रदेश १ मा तीन जनाको मृत्यु

विराटनगर, १६ असार–प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका-५ मा खेतमा काम गर्दै गरेका स्थानीय २२ वर्षीय मो.सजाद मियाको ट्याक्टरले किच्दा मृत्यु भएको हो ।

धनपालथान गाउँपालिका ६ का लखना रायको खेत जोत्दै गर्दा को२त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई मियालाई किचेको थियो । घटनाबारे छानबिन थालिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्‍याई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका–९ का २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका १० का २६ वर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैंलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.