News of Nation

सतासी महिला मौरीपालन सहकारी संस्थाद्धारा मौरी ब्लक अनुदानतर्फ कृषकलाई सामग्री हस्तान्त्रण

दुधे, २५ जेठ–प्रदेश १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले झापाको दुधेस्थित सतासी महिला मौरीपालन सहकारी संस्थाको स्थलगत अध्ययन, अवोलकन तथा मौरी पालक कृषकहरुबीच अन्तरक्रिया गरेका छन् । राज्य मन्त्री रानाले सतासी महिला मौरीपालक सहकारी संस्थाद्धारा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मौरी ब्लक अनुदान र समान सहभागितामा करिब ५० लाख रुपैयाँको सामग्री हस्तान्त्रण गरेका छन् ।

कार्यक्रममा राज्यमन्त्री रानाले संस्थाका ७ जना मौरीपालक महिला किसानलाई सो सामाग्रीहरु हस्तान्तरण गरका हुन् । संस्थाका ६ जना महिला सदस्यहरुलाई जनही ४७–४७ सेट मौरी गोला, मौरी घार र घार स्टेण्ड गरी सात लाख पाँच हजार रुपैयाँको सामग्री अनुदानमा दिइएको छ भने एकजनालाई सात लाख बीस हजार रुपैयाँको ४८ सेट मौरी सामग्री हस्तान्तरण गरिएको छ ।

संस्थाका सदस्य पुनिका सुनुवारलाई ४८ सेट तथा धनमाया पाठक (सुशिला), सम्झना चौधरी, कमला राई, हेमकुमारी लिवाङ, सन्ध्या श्रेष्ठ र मनु अधिकारीलाई ४७ सेटका दरले मौरी गोला, मौरी घार र घार स्टेण्ड प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष तथा मौरी ब्लक समितिका संयोजक धनमाया थापाको अध्यक्षता तथा प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मागरको प्रमुख आतिथ्यमा आयोजित अनुदान हस्तान्तरण कार्यक्रममा मौरीपालक किसानका बीच सार्वजनिक सुनवाई पनि गरिएको थियो ।

सो कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै ब्लक संयोजक थापाले कोभिड–१९ को संक्रमण बढ्ने सन्त्रासले सरकारले गरेको लामो लकडाउनका कारण सतासी मौरीपालन सहकारीका सदस्यहरुको मात्र ७० लाख रुपैयाँ बराबरको मौरी र मह क्षति भएको अवगत गराइन् । मौरी ब्लकमा ३२० घरपरिवारसँग ३५ सय गोला मौरी रहेका तथा गतवर्ष ६० टन मौरी उत्पादन गरिएकोमा यो वर्ष आधामात्र उत्पादन लिन सकिएको उल्लेख छ ।

यसैबीच, कार्यक्रममा मौरीपालक किसान एवम् संघ–संस्थाको तर्फबाट १६ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । राज्यमन्त्री रानासहित सचिव निरु पाण्डे दाहाल, मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेती, प्रदेश सांसद झलकसिंह दर्लामी मगर, कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल तिवारीको उपस्थितिमा ध्यानकर्षण पत्र दिइएको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.