News of Nation

लिम्बू भाषा पठान-पाठनको माग गर्दै चुम्लुङद्धारा दमक नगरपालिकाको ध्यानाकर्षण

दमक २६, जेठ–झापाको दमकमा ठुलो जनसंख्याका रुपमा रहेको लिम्बु समुदायका अगुवाले सामुदायिक विद्यालयमा लिम्बु भाषा पठन–पाठनका बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

लिम्बु जातिका सामाजिक संस्था किरात याक्थुङ्ग चुम्लुङ दमकका एक टोलीले आज नगरपालिका पुगेर त्यस वारे स्थानीय सरकारको ध्यानाकर्षण गराईएको अध्यक्ष देवेन्द्र चेम्जोङले वताएका छन् ।

चुम्लुङले गत पुस ९ गते दमकमा विद्यालय तहमा लिम्बु भाषा पठनपाठन गर्न भाषिक अगुवा सेसेहाङ फियाकको संयोजकत्वमा ११ सदस्यीय लिम्बु भाषा सहजीकरण उपसमिति गठन गरेको थियो । त्यही उपसमितिको अगुवाईमा भाषा पठनपाठनका बारे स्थानीय सरकारसंग प्रस्तावना पेश गरिएको हो ।

सो व्यवहोराको प्रस्तावना पत्र नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरिएको थियो । प्रस्तावना पत्र बुझदै नगर प्रमुख ओलीले संविधानमा उल्लेख भएअनुसार स्थानीय सरकारले भाषिक नीति वनाएर काम थाल्ने आश्वासन दिए ।

चुम्लुङको टोलीमा नगर अध्यक्ष चेम्जोङसहित चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, भाषिक अगुवा शेसेमी से नाल्वो, सेसेहाङ फियाक, चुम्लुङ दमकका पूर्व अध्यक्ष गुमानसिंह सम्बाहाम्फे लगायत रहेका थिए ।

नगरपालिकाले गत २०७५ सालमा निकालेको नगर प्रोफाइलमा नगरका २३ वटा सामुदायिक विद्यालयहरु मध्ये लिम्बु भाषा पठनपाठन गर्न तथा गराउन संभावना रहेका ८ वटा विद्यालयमा ऐच्छिक पठनपाठनको रुपमा व्यवस्था गरिदिन माग गरिएको प्रस्तावना पत्रमा उल्लेख छ । दमकका १० वटै वडामा लिम्बु जातिको बसोवास रहेको छ ।

ती मध्ये कुल जनसंख्याको ९ प्रतिशत अर्थात ८ हजार ३ सय ४७ लिम्बु जाति बसोवास रहेको र त्यस मध्ये ३ हजार एक सय ५७ जना अर्थात ३.६३ प्रतिशतले लिम्बु भाषा बोल्ने गरिआएको नगरपालिकाको प्रोफाइलमा जनाईएको छ । नगरपालिकाको जनसंख्या कुल ८६ हजार ८सय ९० छ । दमकमा नेपाली भाषा पछि दोश्रो ठुलो भाषा र जनसंख्या लिम्बुको रहेको छ ।

लिम्बु भाषा पठन-पाठन गर्न सकिने विद्यालयहरु

चुम्लुङको लिम्बु भाषा सहजीकरण उपसमितिले दमकका ८ वटा विद्यालयमा लिम्बु जातिको भाषा श्रीजंगा लिपी पठनपाठन गर्न सकिने औल्याएको छ । लिम्बु जाति बाहुल रहेका वडाका विद्यालयमा ऐच्छिक भाषाको रुपमा पठनपाठन गर्न सकिने उपसमितिका संयोजक फियाकले वताए ।

जसअनुसार दमक-७ को पृथ्वी मावि, दमक-८ को जनता आधारभूत विद्यालय, दमक-९ को सरस्वती मावि, दमक-५ को दिपीनी आधारभूत विद्यालय, दमक-५ को कृष्ण आधारभूत विद्यालय, दमक-३ को चुलाचुली आधारभूत विद्यालय, दमक-२ को हिमालय मावि र दमक-१ को भृकुटी आधारभूत विद्यालयमा लिम्बु भाषा पठनपाठन गर्न सकिने प्रस्तावनामा उल्लेख छ ।

त्यस मध्ये २०६७ सालदेखि भने पृथ्वी माविमा विद्यालय र स्थानीयको प्रयासवाट ऐच्छिक विषयका रुपमा लिम्बु भाषाको पठन-पाठन हुदैआएको छ । उपसमितिले त्यस विद्यालयमा दरवन्दी दिएर भाषा पठन-पाठन नियमित हुने वातावरण गरिदिन समेत माग गरिएको जनाईएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.