News of Nation

‘कोही अनलाइन कक्षामा बस्नै डराउँछन्, कसैसँग न मोबाइल न रेडियो’

समिक्षा अधिकारी/काठमाडौं, २९ जेठ–ठूली भेरी नगरपालिकाका चक्र विश्वकर्माका छोरा दस वर्षका छन्। भर्खरै ५ कक्षा पास भएर ६ कक्षा पुगेका। कर्णाली प्रदेशको डोल्पामा कोरोना लकडाउनको प्रभाव कम छ। तर चक्रलाई कोरोनाभन्दा लकडाउनकै भय बढी छ।

कारण-चक्रका छोरा तीन महिनायता स्कुल जान पाएका छैनन्। स्कुल जान नपाउँदा छोरोका बालविकासको लय बिथोलिएको उनले देखिरहेका छन्।

स्कुल जाँदा उनका छोरा साथीसँग खेल्न मन गर्थे। घुलमिल हुन्थे। किताब निकालेर पढ्थे। लकडाउन बढ्दै जाँदा छोरा यी गतिविधिबाट टाढिँदै गएकाले चक्रलाई छोराको भविष्यले नराम्ररी पिरोलेको छ। कोरोना कहर त केही समयपछि कम होला, यसको असर दीर्घकालसम्म रहने हो कि भनेर चिन्तित छन् उनी।

‘कान्छो छोरालाई राम्ररी पढाउने भनेको, स्कुल नै चल्न छाड्यो। कति समय बन्द हुने हो,] दुखेसो पोख्दै चक्रले भने, ‘स्कुल खुल्ने बेलासम्म छोराको मन फेरिइसक्ने हो कि१ स्कुल जानै मानेन भने के गर्नु।’

लकडाउन अनिश्चित बनेपछि असार १ गतेदेखि अनलाइन र अफलाइन शिक्षामा बालबालिकालाई जोड्ने तयारीमा छ सरकार। तर, प्रविधि पहुँच बाहिर रहेका चक्रजस्ता अभिभावकमा अनलाइन न अफलाइन, दुवै शिक्षामा सन्तानलाई समेट्न नसक्ने चिन्ता थपिएको छ।

सरकारले सुरू गर्ने भनेको वैकल्पिक शिक्षाबारे चक्रलाई थेरथोर ज्ञान नभएको होइन। इन्टरनेट भएको-नभएको, रेडियो, टेलिभिजन भए-नभएको यकिन गरी स्थानीय तहले समन्वय गर्न र सिकाइ सञ्चालन गर्न निर्देशन दिएपछि नै उनी ज्यादा समस्यामा छन्।

‘खेती-किसानी, ज्याला-मजदुरी गरेर परिवार पाल्नु पर्छ, कसरी दुई छाक टार्ने भन्ने बेलामा कता टिभी, रेडियो, कम्प्युटर किनेर पढाउने,’ चक्रले समस्या देखाउँदै गुनासो पोखे, ‘यस्तोमा त धनीका बच्चाले मात्रै पढ्न पाउने भए, मेरो छोरा त ६ कक्षाभन्दा माथि नउक्लिने भयो।’

सरकारले चैत ५ गतेभित्र माध्यमिक तहको परीक्षा सक्न निर्देशन दिएको थियो। तराइका कतिपय स्कुलमा भने वार्षिक परीक्षा नै भएको छैन। परीक्षा नभएकाले विद्यार्थीलाई कति कक्षाको पाठ पढाउने होरु अभिभावक दोहोरो चिन्तामा डुबेका छन्। कतिपय बालबालिकामा मानसिक समस्यासमेत सिर्जना भएको छ।

केही अभिभावकसँग कुरा गर्दा उनीहरू प्रविधि बाहिर रहेको बताए। सरकारले सुरू गर्ने भनेको अनलाइन शिक्षा उनीहरूको पहुँचमा पर्दैनथ्यो।

सप्तरी हनुमाननगरका हरिओम मेहता त्यस्तै अभिभावक हुन्। उनका दाजुका दुई छोराछोरी छन्। दुई कक्षामा पढ्दै आएका उनीहरूलाई लकडाउन भएपछि पढाइबारे स्कुलले कुनै खबर पठाएको छैन। १ गतेदेखि सुरू हुने भनिएको वैकल्पिक सिकाइ कस्तो हुने हो थाहा नभएको हरिओम बताउँछन्। सिकाइ विधिबारे कुनै जानकारी नहुँदा बच्चालाई कसरी तयार पार्ने, उनलाई थाहा छैन।

‘भर्चुअल कक्षाको चर्चा छ, हाम्रो बच्चालाई त्यो भनेको के हो नै थाहा छैन। लकडाउनले दैनिकी मुश्किल पारिदिएको छ’  जिल्लाको अवस्था बताउँदै हरिओमले भने, ‘धेरैको घरमा रेडियो पनि छैन। भएकालाई पनि कसरी पढ्ने, सिक्ने तरिका नै थाहा छैन। सिकाए पनि कहिले बानी पर्ने हो थाहा छैन। अरू भन्दा धेरै पछाडि पर्नेछन् हाम्रा केटाकेटी।’

उनले थपे, ‘कहिल्यै नगरेको काममा लगाउँदा बच्चालाई मानसिक दवाव पर्ने हो कि जस्तो पनि लाग्छ।’

परिवारमा शिक्षित हुनाले उनले आफ्ना केटाकेटीलाई आधारभूत र जीवनउपयोगी सीप सिकाइरहेका छन्। तर उनीहरूसँगैका साथीहरू बाहिर खेलिरहँदा घरेलु ज्ञानमा रूचि नदेखिएको हरिओमले बताए।

‘साथी खेलिरहँदा उनीहरू मात्रै पढ्न, सिक्न मान्दैनन्,’ बालबालिकाको सिकाइ समस्याबारे उनी भन्छन्।

अनलाइन र भर्चुअल कक्षा सञ्चालन सम्बन्धमा गाउँका मात्रै होइन प्रविधियुक्त सहरी क्षेत्रका अभिभावकको समेत असन्तुष्टि छ। आधारभूत तहका केटाकेटीलाई मोबाइल वा ल्यापटप स्क्रिनअघि राख्न मुश्किल छ।

पोखराकी शर्मिला विकलाई छोरीको स्कुलबाट अनलाइन कक्षामा राख्न बारम्बार फोन आइरहन्छ। तर छोरीको यस्तो पढाइमा रूचि नै छैन।

‘११ वर्षकी छोरी मोबाइल चलाउँछिन्, तर अनलाइन कक्षा भन्नेबित्तिकै आत्तिएर, डराएर बोल्नै सक्दिनन्,’ आफैंलाई पनि अनलाइन मिटिङमा समस्या हुने बताउँदै शर्मिला भन्छिन्, ‘भिडिओ कलमा देखिने ब्याकग्राउन्ड, दोहोरो कुराकानी र छेउमा कोही बसिदिनाले उसलाई समस्या हुने रहेछ।’

शर्मिला शिक्षक हुन्। सिकाइमा बच्चाको रूचि भए(नभएको थाहा पाउन उनलाई गाह्रो छैन। विद्यार्थी मानसिक रूपमा पढ्न तयार नभएपछि जोड गरेर मात्रै नहुने उनी बताउँछिन्। तयारीबिनाका यस्ता अनलाइन कक्षा फलदायी नहुने उनको धारणा छ।

‘छोरीको अनलाइन कक्षामा म पनि बस्छु। पढ्ने र पढाउनेको मनस्थिति कस्तो छ बुझ्न गाह्रो हुँदैन,’ शर्मिलाले अर्को समस्या देखाइन्, ‘दुवै पूर्ण तयार भएको पाउँदिनँ। यस किसिमको सिकाइ बच्चालाई सजाय पो हुने हो कि झैं लाग्छ।’

साधन स्रोतमा पहुँच हुनेहरूका पनि आ-आफ्नै समस्या छन्। लक्ष्मी गौतम काठमाडौंको एक निजी स्कुलमा पढाउँछिन्। साथै स्कुले छोराकी आमा पनि हुन्। स्कुलले अनलाइन कक्षा सञ्चालन गरेदेखि घरमा भएको ल्यापटप कसको काममा प्रयोग गर्ने समस्या खडा भएको छ। लकडाउनले श्रीमानलाई पनि घरैमा बसेर काम गर्न बाध्य पारेको छ।

‘घरको ल्यापटप ३ जनामा कसले प्रयोग गर्ने मुख्य समस्या छ,’  लक्ष्मी भन्छिन्, ‘जसोतसो मोबाइलले काम चलाउँछौं। तीन जनाले तीनतिर काम गर्न थालेपछि नेट चल्न छाड्छ। कसैको पनि काम राम्रो बन्दैन।’

घरको समस्या सुल्झाएर विद्यार्थीको सिकाइ कक्षामा पुग्दा लक्ष्मीका अगाडि थप १० वटा समस्या खडा हुन्छन्। पहिलो त सबै विद्यार्थीलाई अनलाइन कक्षामा समेट्न सकिँदैन। ३० प्रतिशत विद्यार्थी भएको कक्षामा पनि कोही इन्टरनेटको समस्या त कोही बिजुलीको समस्याले बिचबाटै हराउँछन्। छुटेका विद्यार्थीलाई कसरी सिकाउने कुनै कार्यविधि बनिसकेको छैन।

‘एकजना विद्यार्थीलाई अनलाइनबाटै नोट गर्न भनेँ, तर उनी मोबाइल मात्रै लिएर बाख्रा चराउन नजिकैको जंगल गएका रहेछन्,’ अनलाइन कक्षाका समस्याबारे लक्ष्मी भन्छिन्, ‘मोबाइल पनि विदेशबाट आएका मामाको रहेछ। यस्ता बच्चालाई कसरी अनलाइनसम्म ल्याउन’ !

कक्षा सञ्चालन हुने थाहा पाएर मामासँग मागेको फोन भोलिका दिनमा पक्कै साथमा हुँदैन। कुराकानी क्रममा पनि साना कक्षाका केटाकेटीले बोलेको नबुझ्ने, दोहोरो संवाद गर्न गाह्रो हुने त छँदैछ।

आमा-छोराको समय तालिका बताउँदै लक्ष्मी थप्छिन्, ‘मैले पढाउने र छोराले पढ्ने समय जुध्दा विद्यार्थी पढाउने कि छोरालाई गाइड गर्ने, मेसो मिल्दैन।’

डोल्पाका चक्र विश्वकर्मा, सप्तरीका हरिओम मेहता, पोखराकी शर्मिला विक र काठमाडौंकी लक्ष्मी गौतम देशका विभिन्न क्षेत्रमा रहेका विद्यार्थीका अभिभावकका प्रतिनिधि हुन्। थोरैबाहेक सबैको समस्या यही हो।

यस्तो अवस्थामा सरकारले कहीँ आधारभूत पूर्वाधार उपलब्ध गराउनेदेखि सिकाउनेसम्मका काम चरणवद्ध रूपमा गर्नुपर्ने हुन्छ। अनलाइन कक्षामा घुलमिल हुन विद्यार्थीलाई मानसिक रूपमै तयार गरिनुपर्छ। हामीले कहिल्यै अभ्यास नगरेको प्रणालीले धेरै अभिभावकलाई अत्याएको छ।

सरकारले यसबारे अध्ययन गरेर, ठाउँ र अवस्थाअनुसार माग सम्बोधन गरेर समस्या सल्टाइदिन अभिभावकहरूले अनुरोध गरेका छन्। सेतोपाटीबाट

Facebook Comments

Leave A Reply

Your email address will not be published.