News of Nation

नेपाली ‘उद्धार’ गरेर ल्याउने हवाई भाडा घटाइयो

कुल लागतको २० प्रतिशत वा १०० डलरसम्म

काठमाडौं, ३१ जेठ–स्वदेश फर्किने नेपालीहरुका लागि तोकिएको भाडादर नेपाल वायुसेवा निगमले घटाएको छ। विदेशबाट उद्धार गरि ल्याइने नेपालीबाट चलनचल्तीको भन्दा दोब्बर भाडा असुलिएको गुनासो व्यापक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो निर्णय लिन बाध्य भएको हो।

शनिबार सिंहदरवारस्थित पर्यटन मन्त्रालयमा भएको छलफलमा हालको प्रस्तावित हवाई भाडादरमा पुनरावलोकन गर्न संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई भाडा समायोजन गर्न अनुरोध गरेका थिए। त्यसपछि नेपाल वायुसेवा निगमले हवाई भाडादरमा गरेको पुनरावलोकन गरेको हो।

सरकारको अनुरोध बमोजिम खाडी लगायत प्रमुख श्रम गन्तव्य मुलुकहरुबाट नागरिकहरुलाई नेपाली विमानहरुमार्फत स्वदेश फर्काउन यसभन्दा अगाडि जारी गरिएको भाडादर घटाउने निर्णय लिइएको हो। अब कुल लागतको २० प्रतिशत वा एक सय डलरसम्म भाडा घटाउने निर्णय गरिएको नेपाल वायु सेवा निगमले जनाएको छ। संकटमा परेका नेपालीहरुको समस्यालाई ध्यान दिँदै यस्तो निर्णय लिइएको निगम व्यवस्थापनले जनाएको छ।

कोरोनाले निम्त्याएको संकटपूर्ण अवस्थामा मुनाफाभन्दा सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको बताइएको छ। यस निर्णयबाट विशेष गरी खाडी राष्ट्र, मलेसिया र साइप्रसका नेपाली नागरिकहरुलाई प्रत्यक्ष राहत पुग्‍ने जनाइएको छ। ‘नेपाल वायुसेवा निगम सम्पूर्ण नागरिकहरुको सेवामा सदैव तत्पर छ’, जारी विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै हिमालयन एयरलाइन्सले भने आन्तरिक छलफलपछि निर्णय गर्ने उल्लेख गरेको छ । कति घट्यो रु निगमको घोषणा अनुसार खाडी मुलुकबाट आउने नेपालीको भाडादर अब ९० देखि एक सय डलरसम्म घटेको छ। निगमले तोकेको नयाँ भाडादरले नेपालीलाई केही रात दिएको छ। मलेसियाबाट आउनेले अब ४ सय ६५ डलरको साटो ३ सय ७२ डलर तिर्नुपर्ने छ।

कुवेतबाट आउँदा अब ४ सय १० डलर तिर्नुपर्छे। यहाँ पहिले ५ सय १० डलर तोकिएको थियो। जोर्डनको अम्मानबाट काठमाडौं आउँदा ६ सय ७५ तिर्नुपर्ने छ। पहिले यहाँबाट काठमाडौंको भाडा ७७५ डलर थियो। अर्को गन्तब्य मुलुक साइप्रसबाट आउँदा ७ सय ३० तिर्नुपर्ने छ। त्यहाँबाट आउँदा पहिलेको भाडा ८ सय ३० डलर थियो।

कतारको दोहाबाट काठमाडौं आउने भाड पनि घटेको छ। त्यहाँबाट यसअघि ४ सय ९० डलर भाडा तोकिएको थियो। अब घटेर ३ सय ९२ डलरमा झरेको छ। दुबईबाट आउँदा यसअघि ४ सय ५० डलर थियो भने अब नयाँ भाडादर ३६० डलर कायम गरिएको छ। त्यसैगरी नेपालीको अर्को प्रमुख गन्तव्य साउदी अरबको दमामबाट काठमाडौं आउँदा ४ सय ३० डलर तिरे पुग्‍नेछ। पहिले त्यहाँबाट आउँदा ५ सय ३० डलर तोकिएको थियो। जेद्दाहबाट आउँदा अब ५ सय ९ सय ८० डलर तिरे पुग्नेछ।

यसअघि ६ सय ९० डलर तोकिएको थियो। ओमानको मस्कटबाट आउँदा ३ सय ६८ तोकिएको छ। पहिले ४ सय ६० डलर थियो। त्यसैगरी बहराइनबाट काठमाडौंसम्मको भाडा ३ सय ९२ डलर तोकिएको छ। पहिले बहराइनबाट आउने भाडा ४ सय ९० डलर निर्धारण गरिएको थियो।

Facebook Comments

Leave A Reply

Your email address will not be published.