News of Nation

पत्रकारको परिचयपत्र र ज्याकेटले मात्रै कोरोना छेक्छ र ?

सामाजिक दूरी बनाउन नसक्दा बढ्दैछ जोखिम

काठमाडौं, ३२ जेठ–प्रेस लेखिएको ज्याकेट। गलामा परिचय पत्र। साथमा कलम, डायरी, झोला। यही हो पत्रकारको पहिचान। यो पहिचान मात्रै होइन, पत्रकारलाई जोगाउने हतियार पनि हो। आन्दोलनमा जाँदा धरपकड र अन्य अफ्ट्यारोबाट जोगिने सुरक्षा कबचका रुपमा पनि यसलाई लिइन्छ। कतिपय समय यी वस्तुले पत्रकारको जिउको सुरक्षा पनि गर्छन। तर, पत्रकारको परिचयपत्रमात्र ले कहिलेकाहीँ यो सबै गर्न सक्दैन। पछिल्लो समय कोरोना भाइरस कोभिड-१९ को कारण सरकारले संक्रमण रोक्न पन्जा, सेनिटाइजर, मास्क सामाजिक दुरी अपरिहार्य भइसकेको छ। सामाजिक दुरी आवश्यक रहे पनि पत्रकारहरुमा भने यो लागू हुन सकेको छैन।

कोरोना संक्रमण रोक्न अधिकांश सञ्चारमाध्यमले सामाजिक दुरी आवश्यक रहेको सन्देश दिइरहे पनि स्वयं पत्रकारहरु भने आफै यो कर्तव्यबाट पर भागेको दृश्य शनिबार सरकारविरुद्ध माइतीघर मण्डलमा देखियो। उनीहरूले मास्क त लगाए तर सामाजिक दुरी भने कायम गर्न सकेनन्। त्यहाँ प्रदर्शनमा आएका युवाले सामाजिक दुरी अपनाउनु भन्दै माइकिङ गरे पनि त्यो पत्रकारहरुले अटेर गरे। त्यहाँ भेटिएका एक युवाले पत्रकारहरुमाथि व्यङ्ग्य कस्दै भने, ‘कोरोना परिचयपत्र र ज्याकेटले छेक्छ होला नि।’

सरकारले लकडाउन गरेपपछि आम जनताले पत्रकारहरुमाथि पनि सामाजिक दुरी कायम नगरेको भन्दै आलोचना गरिरहेका छन्। यसरी आलोिचत भइरहँदा पत्रकार स्वंयले पनि सामाजिक दुरी कायम गर्न जरुरी देखिएको छ। कम्तीमा ३ फिट सामाजिक दुरी अहिलेको अवस्थामा चाहिन्छ। यही बीचमा सडकमा देखिएको आन्दोलनको माहोलले पत्रकारहरु पनि सुरक्षाकर्मीजतिकै जोखिममा पर्ने अवस्था छ। अहिले भारतको मुम्बई कोरोनाको हट स्पट बनिरहेको छ। जहाँ एकै दिन सयौँ पत्रकार कोरोना संक्रमित पाइएका थिए। अर्को तीतो यथार्थ भनेको त्यहाँ पत्रकारले पनि कोरोनाबाट ज्यान गुमाइरहेका छन्।

मुम्बई पनि अहिले काठमाडौंमा जस्तै सुरुमा रेल चढ्ने बहानामा १०‍औँ हजार मानिस सडकमा निस्किए। त्यसको परिणाम अहिले महाराष्ट्रमै चीनमा भन्दा धेरै संक्रमित भेटिएका छन्। अर्थात, संक्रमितको संख्या १ लाख नाघेको छ भने मर्ने पनि ४ हजार नजिक छन्। काठमाडौंका सडकमा अहिले मुम्बईकै दृश्य देखिँदैछ। यो दृश्य मुम्बईकै जस्तै भयावह भएमा प्रेस लेखिएको ज्याकेट र परिचयपत्रले पत्रकारलाई जोगाउला ?

Facebook Comments

Leave A Reply

Your email address will not be published.