काठमाडौं, २ असार–कोभिड–१९ (कोरोना०) महामारीले अनेकन समस्या निम्त्याएपछि विश्वका मुलुकहरूमा फरक(फरक अवस्था देखिएको छ। महामारी तीव्र रुपमा फैलँदा पनि केही देशले लकडाउन खुकुलो बनाइरहेका छन्। केही देशहरूले फेरि यसमा थप कडाई गरेका छन्। सिंगापुरको स्वास्थ्य मन्त्रालयले पसल र रेस्टूराँहरू खोल्ने अनुमति दिएको छ। साथै पाँच जनासम्म मानिसहरू एकै ठाउँमा जम्मा हुन पनि स्वीकृति दिएको छ।
चीनले कोरोना महामारीको दोस्रो लहर देखिएपछि राजधानी बेइजिङमा फेरि कडाई गरेको छ। बेइजिङको कैयौं काउन्टीका विद्यालयहरू बन्द गराइएको छ। ठाउँ ठाउँमा सुरक्षा चौकी स्थापना गरेको छ। करिब ९ करोड ७० लाख जनसंख्या रहेको भियतनाममा अहिलेसम्म जम्मा ३३० जनालाई कोरोना संक्रमण भएको छ। अहिलेसम्म त्यहाँ मानवीय हताहति भएको छैन। संक्रमण रोकथाम गर्न भियतनामले सुरुमै कडा कदम चालेको थियो।
विश्वका कैयौं देशहरूले यसो गर्न महिनौं लगाएका थिए। यात्रा प्रतिबन्ध, चीनसँगको सीमामा कडा निगरानी र व्यापक परीक्षण व्यवस्थाका कारण भियतनाममा कोरोना महामारीको प्रभाव अहिलेसम्म निकै कम देखिएको छ। अष्ट्रेलिया सरकारले त्यहाँको अर्थव्यवस्था सामान्य अवस्थामा आउन कम्तिमा दुई वर्ष कुर्नुपर्ने जनाएको छ। अर्थव्यवस्था सुधार्न सरकारले वृहद भवन र पूर्वाधार परियोजना अघि सारेको छ।
यद्यपि, अष्ट्रेलियाले कोरोना भाइरस नियन्त्रणमा सफलता हासिल गरेकाले अर्थव्यवस्था चाँडै सुधार हुने जनाइएको छ। ल्याटिन अमेरिकामा अहिलेसम्म ८० हजार भन्दा धेरै मानिसको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ज्यान गुमाएकामध्ये आधाभन्दा धेरै मानिसहरू ब्राजिलका हुन्। अमेरिकापछि ब्राजिल कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। ब्राजिलमा कोरोना संक्रमितको संख्या ८ लाख ८८ हजारभन्दा धेरै पुगेको छ।
हालसम्म ४३ हजारभन्दा बढी संत्रमितले ज्यान गुमाइसकेका छन्। दक्षिण अमेरिकी राष्ट्र चिलीले कोरोना महामारी नियन्त्रण गर्न लगाएको आपतकाल ९० दिन थपेको छ।