News of Nation

भारतमा १० हजारबढी संक्रमितको मृत्यु, चीनमा फेरि खतराको अवस्था

एजेन्सी, ३ असार–कोभिड–१९ (कोरोना) भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। वल्र्डोमिटरडटइन्फोले आफ्नो ड्यासबोर्डमा भारतका दुई हजार ६ जना संक्रमितले एकैदिन ज्यान गुमाएको तथ्यांक राखेको छ। ब्राजिलमा पछिल्लो २४ घण्टाभित्रै ३४ हजार ९१८ जना संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा त्यहाँ एक हजार २८२ जनाको मृत्यु भएको छ।

संक्रमित संख्या नौ लाख २३ हजार १८९ पुगेको छ। कूल ४५ हजार २४१ जनाले ज्यान गुमाएको ब्राजिल यतिखेर कोरोनाबाट अति-प्रभावित मुलुकको सूचीको दोस्रो स्थानमा छ। अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट ओइसीडीले ब्राजिलमा कोरोना महामारीको दोस्रो लहर देखिए त्यहाँको अर्थव्यवस्थामा ९.१ प्रतिशतभन्दा धेरै गिरावट हुने प्रक्षेपण गरेको छ। अहिलेकै स्थितिमा पनि यस वर्ष ब्राजिलको अर्थव्यवस्थामा ७।४ प्रतिशतको गिरावट आउने उल्लेख छ। चीनको राजधानी बेइजिङमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ।

स्थानीय प्रशासनले त्यहाँ कोरोना संक्रमण फेरि खतरनाक स्तरमा पुगेको जानकारी दिएको छ। दर्जनौं नयाँ संक्रमित थपिएका छन्। मानिसहरूको आवतजावतमा रोक लगाइएको छ। केही वर्षयता निकै राम्रो सम्बन्ध बनाएका अष्ट्रेलिया र चीनबीच कोरोना महामारीका कारण तनाव बढेको छ। अष्ट्रेलियाले चीनमाथि डर र विभाजनलाई मलजल गरेको आरोप लगाएको छ। दुई देशबीच कुटनीतिक तनाव बढिरहेको छ। अमेरिका र पश्चिमी राष्ट्रले झै पछिल्लोपटक अष्ट्रेलियाले पनि कोरोना फैलनुमा चीन जिम्मेवार रहेको भन्दा त्यहाँ जाँच हुनुपर्ने माग राखेको थियो।

कोरोनाबाट अति-प्रभावित फ्रान्सले त्यहाँ स्वास्थ्यसँग सम्बन्धित माग राखेर प्रदर्शन गरिरहेका नागरिकमाथि अश्रुग्यास प्रहार गरेको छ। त्यहाँका स्वास्थ्य कर्मचारीहरू कोरोना महामारी नियन्त्रणका लागि आवश्यक प्रणाली र थप लगानीको माग राख्दै आन्दोलनरत छन्। अहिलेसम्म फ्रान्समा एक लाख ९४ हजार ३४७ संक्रमित भेटिएका छन् भने २९ हजार ५५० जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघ युएनले दक्षिण अमेरिकामा कोरोना भाइरसका कारण भोकमरी निम्तिन सक्ने जनाएको छ। दक्षिण, मध्य र क्यारेबियन देशहरूमा कोरोना महामारीका बीच करोडौं मानिसहरूले खाद्य असुरक्षा व्यहोरिरहेको अनुमान गरिएको छ। स्पेनले बेलायतबाट आउने मानिसहरूले क्वारेन्टाइनको सामना गर्नुपर्ने बताएको छ।

युरोपमा बेलायत यतिखेर कोरोना महामारीबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ। त्यहाँ दुई लाख ९९ हजार ६०० जना संक्रमित भेटिएका छन् भने ४२ हजार ५४ जनाको ज्यान गइसकेको छ। विश्वमा बेलायत अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित छ। मंगलबार इटलीमा कोरोना भाइरस संक्रमित थप ३४ जनाको मृत्यु भएको छ। निकै ठूलो मानवीय हताहती निम्त्याएर बीचमा केही मत्थर बनेको महामारीको दोस्रो लहर त्यहाँ पनि देखिन थालेको छ।

सोमबार पनि इटलीमा २६ जनाको मृत्यु भएको थियो। इटलीमा मंगलबार सम्ममा दुई लाख ३७ हजार ५०० जना संक्रमित भेटिएका छन् भने ३४ हजार ४०५ जना संक्रमितले ज्यान गुमाएका छन्।

Facebook Comments

Leave A Reply

Your email address will not be published.