News of Nation

युद्ध रोक्न माग गर्दै चिनियाँ र भारतीय दूतावास अगाडि धर्ना

काठमाडौं, ४ असार–युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानवअधिकार शान्ति समाजका अधिकारकर्मीहरूले भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन्। भारत र चीनबीच सीमा विवाद चर्किंदै गएको र दुई देशका सेनाबीच भीडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले बिहीबार दूतावास अगाडि धर्ना दिएका हुन् ।

मानव अधिकार शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसमक्ष उत्तेजनालाई नबढाउन, समझदारीलाई विस्तार गर्न, वार्ताबाट समाधान खोज्न र युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न दबाब दिन दुवै देशका राजदूतावास अगाडि एकैपटक धर्नामा बसिएको बताए।

युद्धले दक्षिण एसियाको शान्ति खल्बलिने र युद्ध कसैले पनि नजित्ने भएकाले युद्ध गर्न प्रोत्साहन गर्नु अपराध हुने उनले बताए। अधिकारकर्मीहरुले ‘आवेगमा होइन विवेकको प्रदर्शन गर’, ‘युद्धको कुनै पनि सम्भावनालाई खारेज गर’, ‘समझदारी विस्तार गर’, ‘युद्ध निषेधः शान्ति विशेष’ ‘स्टप वार प्रोमोट पिस’, ‘वार इज क्राइम’ लगायत लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए।

केही दिनयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ। दुई देशका सेनाबीच भीडन्त हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो। अन्य केही भारतीय सेना बेपत्ता भएका बताइएको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.