दमक, १८ असार–झापाको दमकमा आजदेखी रेडियो किंग सञ्चालनमा आएको छ । १ हजार वाट क्षमतासहितको सो रेडियोको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । किंग मिडिया ग्रुपबाट संचालन गरिएको सो रेडियोको प्रदेश नम्बर १ का आन्तरीक मामिला, कानून तथा संचारमन्त्री हिकमत कार्कीले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा किंग मिडियाका अध्यक्ष तथा उद्घाटन समारोहका सभाध्यक्ष डा नविन चापागाईले कोरोना भाइरसका कारण विषम परिस्थिति भएपनि अषाढसम्म रेडियो संचालन नगरे दर्ता खारेज हुने भएकाले यो विषम परिस्थितिमा पनि रेडियो संचालन गर्नुपरेको बताउनु भयो ।
वहाँले रेडियोले श्रमजीवी ऐन अनुसार पारश्रमिक दिने प्रतिवद्धता समेत जनाउनु भयो । साथै अध्यक्ष चापागाईले प्रधानमन्त्री केपी ओलीले पठाएको शुभकामना पढेर पनि सुनाउनु भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै संविधानसभा सदस्य दीपक कार्की, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पाथीभरा एफएमका प्रबन्ध निर्देशक राजेन्द्र चौलागाई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्ण प्रसाद आचार्य लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । रेडियो पुर्वका जिल्लाहरुसँगै भारतको सिक्किमसम्म सुनिने बताइएको छ ।
कार्यक्रममा रेडियोका संचालक काशी थपलियाले स्वागत मन्तव्य राख्नु भएको थियो । रेडियोमा संविधान सभाका सदस्य दीपक कार्की, डा नविन चापागाई, काशी थपलिया र विमल शर्माको लगानी रहेको छ । सो कार्यक्रम पत्रकार मदन भट्टराईले संचालन गरेका थिए ।