News of Nation

कोरोना संक्रमण समुदायमा फैलिएको छैन, हेलचेक्रयाईं नगरौंः डा शेरबहादुर पुन (भाइरोलोजिस्ट)

पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । केही दिनयता दैनिक तीन सयभन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् । नेपालमा कोरोनाको अवस्था, स्वास्थ्य सतर्कतालगायत विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ (भाइरोलजिस्ट) डा शेरबहादुर पुनसँग कुराकानीः

नेपालमा कोरोना भाइरसको संक्रमण कुन अवस्थामा पुगेको छ ?

–कडाउनपछिको अवस्था हेर्दा हरेक दिन संक्रमितको संख्या बढिरहेको देखिन्छ । मानिसहरूको आवतजावतसमेत छ । क्वारेन्टिनको व्यवस्था सबैतिर एक रूपको छैन । आगामी दिनमा संक्रमितको संख्या थपिने क्रममा जारी रहने देखिन्छ । संक्रमण नफैलियोस् भनेर दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात धुनु नै कोरोनाबाट बच्न सकिन्छ । लकडाउन खुकुलो छ हेलचेक्रयाईं नगरौं ।

संक्रमण कुन स्तरमा पुगेको मान्न सकिन्छ ?

–अत्यधिक मात्रामा कोरोना संक्रमित भेटिएको छ । अर्को स्रोत पत्ता नलागेको अवस्थामा मात्र कोरोना समुदायमै फैलियो भनिन्छ । कोरोना भाइरसको संक्रमण सामान्यतः ज्येष्ठ नागरिक र दीर्घरोगीलाई देखिन्छ भन्ने छ ।

संक्रमितको संख्या कम हुँदा लकडाउन कडा थियो, अहिले संक्रमित बढ्दै जाँदा लकडाउन खकुलो पारिएको अवस्था छ, जनस्वास्थ्यको हिसाबले यसलाई कसरी हेर्नुभएको छ ?

–चीनको वुहानमा कोरोना संक्रमण नियन्त्रणमा लिइएको थियो । तर हाम्रोमा ठीकविपरीत संक्रमितको दर बढ्यो । एक जिल्लाबाट अर्को जिल्लामा पहुँचका आधारमा जाने, लकडाउनमा पनि मर्निङवाक र इभिनिङ वाक गर्ने, काठमाडौंबाहिर केही स्थानमा सामूहिक बसेर चिया गफ गर्ने पाइयो । लकडाउन भनेको घरमै बस्ने दूरी कायम गर्ने, साबुनपानीले हात धुने र मास्क लगाउने आदि हो तर यी कुनै पनि कुराको कार्यान्वयन नहुँदा अहिले जोखिम बढ्यो ।

यसैगरी भारतबाट आउने नेपालीहरू समूहमा आए । दूरी कायम गर्ने कुरा भएन । बाटोमा आउँदा–आउँदै धेरै नेपाली संक्रमित भएका थिए । क्वारेन्टिनको राम्रो व्यवस्थापन नहुँदा त्यहाँ पनि संक्रमण देखियो ।

नेपालमा कोरोना संक्रमणबाट भएको मृत्युदर अन्य मुलुकको तुलनामा कस्तो छ ?

–नेपालमा कोरोना भाइरसको मत्युदर किन कम रह्यो यो भन्न गाह्रो छ । किन गाह्रो हुन्छ, भने चीनको वुहान र बेइजिङमा देखिएको भाइरस फरक रहेको विभिन्न अध्ययनले देखाएको छ । अर्को हावा पानी, हाम्रो पराम्परागत जीवनशैली, भाइरसको तागत आदिका कारण मृत्युदर कम भएको हो कि जस्तो लाग्छ । नेपालमा पनि कुन प्रकारको भाइरस छ भनेर अध्ययन सुरु भएको देखिन्छ । त्यसले पनि धेरै कुरा पत्ता लगाउँछ ।

सरकारले अहिले लक्षणविहीन संक्रमितको कोरोना परीक्षण नगर्ने भनेको छ । यस्तो अवस्थामा लक्षणविहीनबाट अन्यमा रोग सर्ने सम्भावना कत्तिको छ ?

–लक्षणविहीन कोरोना संक्रमितले अन्यमा रोग सार्ने दर कम हुन्छ । तर १०० प्रतिशत नै सार्दैन भन्नेचाहिँ हुँदैन । लक्षण देखिएका संक्रमितबाट थुकका छिटाले सर्ने हो । लक्षण नभएका संक्रमितमा सर्ने दर कम हुन्छ । नेपालमा कोरोना संक्रमण देखिने त युवाहरू नै छन् । जस कारण पनि अन्य मुलुकको तुलनामा कम हो जस्तो लाग्छ ।

चीन सरकार र विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनमा लक्षण नदेखिनु भनेको एकदमै दुर्लभ हो । तर, लक्षणविहीनले पनि सार्न सक्ने भन्ने थियो । तर हाम्रोमा देखिएको कोरोना संक्रमित बढी लक्षणविहीन नै छन् ।

अर्कोतर्फ भिड बढ्न थालेको छ । जसले कोरोना सर्ने दर बढी हुन्छ । विदेशमा जुठो खाने बढी देखिन्छ तर नेपालमा त्यो बानी कम रहेका कारण पनि यो सर्नेदर कम हुन्छ । सामान्य रूपमा लक्षण देखिएको भन्दा नदेखिएका संक्रमितले सार्ने दर कम हुन्छ ।

संक्रमितको उपचार विधि के हो रु १४ दिन आइसोलसनमा बस्नुबाहेक यसको थप उपचार छैन रु
कोरोना संक्रमितलाई आइसोलेनमा लक्षणका आधारमा औषधि चलाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले हालसम्म कोरोना संक्रमितलाई यो औषधि चलाउन भनेर कुनै मार्ग निर्देशन गरेको छैनन । सबैतिर संक्रमितको हालसम्म लक्षणका आधारमै औषधि चलाउने हो ।

अहिलेसम्म १४ दिनसम्म आइसोलेनमा बस्दा निको भएका छन् । केही संक्रमित मात्र आईसीयूमा गएका छन् । आईसीयूमा गएका संक्रमितलाई लक्षणका आधारमै औषधि दिने हो । श्वासप्रश्वासमा समस्या देखियो भने भेन्टिलेटरका माध्यमबाट सपोर्ट गर्ने हो । भेन्टिलेटर औषधि होइन ।

नेपालमा कोराना भाइरसको पिक टाइम कहिले होला ?

जुन समयमा कोरोना संक्रमितको संख्या ओरालो लाग्छ, त्यो समयलाई पिक टाइम हो भन्न सकिन्छ । तर केही महिना कोरोना जान्छ तर वर्षौंसम्म महामारी जाँदैन । यो समुदायमा कसरी फैलन्छ फैलँदैन, भारतबाट आउने क्रम कतिको कम हुन्छ । यस्तै पीसीआर परीक्षणदर कसरी अघि बढ्छ वा बढ्दैन भन्ने हो ।

नेपालमा कोही व्यक्ति बिरामी नभएसम्म अस्पताल आउँदैनन् । अस्पताल नआएपछि परीक्षण पनि हुँदैन । परीक्षण नभएसम्म संक्रमितको संख्या बढ्दैन । अर्को कुरा दैनिक १० हजार पीसीआर परीक्षण भए मात्र यकिन संख्याको प्रक्षेपण गर्न सकिन्छ ।

कोरोना संक्रमण देखिएकामाथि समाजको दृष्टिकोण कसरी परिवर्तन गर्न सकिन्छ ? अर्थात् यो निको हुने रोग हो भनेर –सर्वसाधारणलाई कसरी बुझाउने ?

कोरोना संक्रमण देखिँदैमा मृत्यु भइहाल्दैन । नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ६ हजारभन्दा बढी निको भएका छन् । यदि निको भएर घर गएकाहरूले कोरोना फैलाउने भए कतिलाई फैलाउथे होला । भाइरस केही दिनमा आफैं निष्क्रिय हुन्छ भन्ने विभिन्न अध्ययनले देखाएका छन् ।

अर्को कोरोना संक्रमण कसरी सर्छ भनेर बुझ्न जरुरी छ, कोरोना थुकका छिटाबाट सर्ने हो । दूरी कायम गर्ने मास्क लगाउने, पटक–पटक हात धुने, सरसफाइमा ध्यान दिने गरे यसबाट बच्न सकिन्छ । विदेशबाट आएका व्यक्तिसँग डराउनु पर्दैन ।

सरकारले गरेको लकडाउनलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

सरकारले सुरुकै करिब तीन महिनाको लकडाउन कडा बनाउन सकेन । नागरिकले पनि लकडाउनको पालना गरेनन् । लामो समय लकडाउन हुँदा विभिन्न समस्या देखिका थिए । सरकारले लकडाउन खुकुलो बनायो । जसकारण संक्रमण बढेको देखिन्छ । यदि सुरुमै कडाइ गरेको भए यस्तो अवस्था आउँदैन थियो ।

अहिले डेंगुको संक्रमण पनि सुरु हुन थालेको छ, यसले थप असर त पार्दैन ?

कोरोनाको महामारीका समयमा रुघाखोकी र डेँगुको चुनौती थपिएको छ । डेँगु र रुघाखोकीसमेत देखिन थालेको छ । डेँगुको लक्षण र कोरोनाको लक्षण मिल्दोजुल्दो हुन्छ । यसको ल्याब परीक्षण पनि धेरै मिल्दोजुल्दो हुन्छ । रुघाखोकी र डेँगु हरेक वर्ष देखिने रोग हुन् ।

रुघाखोकी र डेँगु हरेक वर्ष यही मौसममा देखिँदै आएको छ । मानिस डेँगु र रुघाखोकीको बिरामी छ तर कोरोना शंका गर्दै उपचार पाउनुपर्ने व्यक्तिले पनि समयमा उपचार नपाउने अवस्था सिर्जना हुने देखिन्छ । समाजमा पनि रुघाखोकी लाग्दा यसलाई कोरोना लागे छ भनेर हेर्ने नजर पनि फरक हुने हुन्छ ।

यदि रुघाखोकी ज्वरोका लक्षण लिएर उपचारका लागि आएका बिरामीलाई कहाँबाट आएको भनेर सोध्नुपर्ने हुन्छ । एक सातासम्म देखिएपछि गाह्रो हुने हुन्छ । बिरामीले पनि कहाँबाट आएको ठेगाना ढाँट्नु हुँदैन । जसले उपचारमा मद्दत पुग्छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.