जीवनसिंह राववंशी विर्तामोड, २० असार–कोरोना भाईरसका कारण लामो समयको लकडाउनका कारण संस्थागत बिद्यालयका शिक्षकहरुले तलब भत्ता नपाएको भन्दै संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) बिरोधमा उत्रिएका छन् ।
शुक्रबार, झापाको बिर्तामोडमा विभिन्न नारा, प्लेकार्ड सहितको र्याली गरी बिरोध जनाएका हुन् । दया शब्द चाहिँदैन भोकै मार्न पाईदैन, हाम्रा लागी सरकार कहाँ छन् ? बहाना बाजी चाहिँदैन शिक्षक निकाल्न पाईँदैन, बिद्यालय सञ्चालक तलवको व्यवस्था गर लगायतका लिखित प्लेकार्डहरु हाथमा लिएर शिक्षकहरु बिरोधमा उत्रिएका थिए ।
उनिहरुले संस्थागत शिक्षकहरुले नियुक्ती पत्र पाउनुपर्ने, सरकारले तोकेको पारीश्रमिक पाउनुपर्ने, चैत सम्मको तलब पुर्णरुपमा पाउने व्यवस्था मिलाई लकडाउन अवधिभरी शिक्षकहरुलाई पेस्की प्रदान गर्नुपर्ने, शिक्षक निस्कासन तत्काल रोक्नुपर्ने माग राखेका छन् । ५ सय जनाको उपस्थिती रहेको बिरोध कार्यक्रम बिर्तामोडको मुक्तीचोक परीक्रमा पश्चात कोणसभामा परीणत भएको थियो ।
संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) झापाका अध्यक्ष होमराज खतीवडाले आफुहरुको माग सम्बोधन नभएमा क्रमबद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । देशव्यापी रुपमा संस्थागत बिद्यालय शिक्षक युनियनको बिरोध कार्यक्रममा शिक्षक महासंघले समेत एक्यबद्धता जनाएका छन् ।