News of Nation

जापानको कोरोना सफलता अझै रहस्यमयी

बीबीसी, २३ असार–कोभिड–१९ महामारीको सुरुवातमा जापान सबैभन्दा नराम्ररी प्रभावित राष्ट्रमा पर्दथ्यो तर महिनौँ बितिसक्दा अवस्थामा ठूलो बदलाव आएको छ, जहाँ यतिखेर अमेरिका यससँग लड्न सबैभन्दा बढी संघर्ष गरिरहेको छ भने जापान चाहिँ ठूलो क्षतिबाट बचेको हो । यही कारण अहिले जापानको रहस्यमयी सफलता सम्बन्धी विभिन्न चर्चा भइरहेका छन् । कसैले जापानीहरुको आनीबानीलाई श्रेय दिएका छन् भने कतिले चाहिँ उनीहरुसँग बाँकी दुनियाँको भन्दा उच्च प्रतिरोधात्मक क्षमता भएको दाबी गरिरहेका छन् ।

जापानमा कोभिड मृत्युदर विश्वकै थोरै छ भन्ने होइन किनकि त्यही क्षेत्रमा दक्षिण कोरिया, ताइवान, हङकङ र भियतनाम यसका यो भन्दा धेरै उदाहरणीय मानिन्छन् । तर २०२० को सुरुवातमा जापानमा वास्तवमै औसतभन्दा धेरै कम मृत्यु दर रहेको छ जबकी यो राष्ट्रलाई धेरै पक्षका आधारमा अत्यन्तै संवेदनशील मुलुक मानिएको थियो ।

यस्तोमा जापानले आफ्ना छिमेकीहरु जसरी आक्रामक नीति नअपनाइकन कसरी भाइरसको सामना गर्यो भन्ने कुराले धेरैलाई आश्चर्यमा पारेको हो ।

के भएको थियो जापानमा ?

गत फेब्रुअरी जब वुहान संक्रमण उच्च बिन्दुमा पुगेको थियो, त्यतिबेलासम्म पनि जापानले चिनियाँ आगन्तुकहरुका लागि आफ्नो सिमाना खुलै राखिरहेको थियो । यसपछि भाइरस बिस्तारै सबैतिर फैलँदै जाँदा यसले विशेषगरी वृद्धहरुको ज्यान लिने गरेको अनि नजिकी सम्पर्कबाट सर्न सक्छ भन्ने पत्ता लाग्यो ।

जापान विश्वकै सबैभन्दा धेरै वृद्ध जनसङ्ख्या भएको मुलुकमा पर्दछ भने यसका प्रमुख सहरहरु पनि अत्याधिक भरिभराउ र भीड हुने गरेका छन् । त्यसैले जापान नराम्ररी संक्रमण फैलने जोखिममा थियो । जस्तै राजधानी टोकियोमा मात्र ३ करोड ७० लाख मानिसहरु बसोबास गर्छन् भने अधिकांशको यात्राको साधन भनेको सार्वजनिक रेल रहेको छ ।

यति मात्र नभएर विश्व स्वास्थ्य संगठनले भाइरसविरुद्ध दिएको सबैभन्दा महत्वपूर्ण सुझाव, ‘टेस्ट टेस्ट अनि टेस्ट’ लाई पनि जापानले त्यति आज्ञाकारी रुपमा अपनाएन ।

अहिलेसम्म पनि जापानको परीक्षण दर कूल जनसङ्ख्याको ०।२७ प्रतिशत अर्थात् ३ लाख ४८ हजार मात्र रहेको छ । यसैगरी जापानले अहिलेसम्म युरोप जति गम्भीरतापूर्वक लकडाउन पनि जारी गरेको छैन । जस्तै कि अप्रिलको सुरुवातमा सरकारले आतप्काल घोषणा गरेको थियो तर घरमै बस्नुपर्छ भन्ने आग्रह कसैमाथि पनि जबरजस्ती लागु गरिएन । अति आवश्यक बाहेकका व्यवसाय बन्द गर्न भनियो, तर कसैले यसलाई अस्वीकार गरे पनि कुनै कानुनी कारबाहीमा पर्दैनथ्यो ।

यसरी कोभिडविरुद्ध सफल मानिएका प्रायः देशहरु जस्तै न्युजिल्यान्ड र भियतनामाले कडा लकडाउन, बन्द सिमाना र परीक्षणको दायरा बढाएर नै ठूलो उपलब्धी हासिल गरेका छन् तर यता जापानले तीमध्ये कुनै पनि नअपनाइ, कोरोना नियन्त्रण गर्न सफल भएको हो । यसरी पहिलो कोभिड संक्रमित फेला परेको पाँच महिनापछि पनि जापानमा मृत्यु हुनेको सङ्ख्या १ हजार भन्दा थोरै छ भने २० हजार भन्दा कम बिरामी छन् ।

जापानले वास्तवमै भाइरस नियन्त्रण गरिसकेका बारे वैज्ञानिक प्रमाण पनि प्रशस्तै फेला परिसकेका छन् । यसअघि सबैभन्दा ठूलो टेलिकम कम्पनी सफ्टब्याङ्कले ४० हजार कर्मचारीमा गरेको एन्टिबडी टेस्टमा केबल ०.२४ प्रतिशत मात्र भाइरससँग सम्पर्कमा आएको पत्ता लागेको हो ।

त्यसैगरी टोकियो र अन्य दुई ठाउँमा ८ हजार बढी मानिसहरुमा गरिएको परीक्षणमा पनि केबल ०।१ प्रतिशतमा भाइरस पोजिटिभ देखिएको थियो । त्यहाँका प्रधानमन्त्री शिन्जो आबेले गत महिना आपत्कालीन हटाएको घोषणा गर्दैगर्दा अरु देशले पािन जापानी मोडलबाट सिक्नुपर्ने बताएका हुन् ।

जापानमा के छ त्यस्तो विशेष ?

जापानका उपप्रधानमन्त्रीको कुरा सुन्ने हो भने उनले कोरोना सफलताका पछाडि जापानी जनताको उच्च वा गुणस्तरीय व्यवहारको कुरा उठाएका छन् । जसमा उनले यसअघि विभिन्न राष्ट्र प्रमुखहरुले आफूसँग सफलताको रहस्य सोधिरहेको पनि दाबी गरेका थिए । यसपछि उनले, अन्य देश हेरेर आफ्ना देशका नागरिकहरुको आनीबानीमा ठूलो फरक भएकैले गर्दा यस्तो नतिजा प्राप्त गर्न सकेको बताउँदा सबै स्तब्ध बनेका बताएका हुन् ।

जापानको परम्परागत स्तर फरक रहेकामा उनले विशेष जोड दिएका हुन् जुन विषय वास्तवमा इन्पेरियल युगदेखि चलिआएको छ । केही वैज्ञानिकहरुले पनि जापानमा अरु देशभन्दा केही फरकपना रहेकैले उनीहरु कोभिडबाट सुरक्षित भएको अनुमान गरिरहेका छन् । जस्तै कि कसैलाई सम्बोधन गर्दा त्यहाँ अंकमाल गर्ने चलन छैन तर अझै यसलाई स्पष्ट प्रमाणका रुपमा लिन नसकिने बताइएको छ ।

के जापानसँग साँच्चै विशेष क्षमता छ ?

टोकियो युनिभर्सिटीका प्रोफेसर टासुहिको कोदामाले बिरामीहरुमा भाइरसको असरबारे अध्ययन गर्दै आएका छन् र उनका अनुसार जापानले कोभिड जस्तो रोगको पहिलो पनि सामना गरिसकेको हुनुपर्छ । कोभिड–१९ नै नभए पनि जापानीहरुले ऐतिहासिक रुपमा त्यस्तै किसिमको रोग अनुभव गरिसकेको उनको विश्वास छ ।

उनले यो कुरालाई यसरी व्याख्या गरेका छन्– जब कुनै भाइरस मान्छेको शरीरमा प्रवेश गर्छ, त्यतिबेला शरीरले उक्त प्याथोजेनलाई हमला गर्न एन्टिबडी उत्पादन गर्न सुरु गर्छ । यसमा दुई किसिमका एन्टिबडी हुन्छन्– आईजीएम र आईजीजी । र यिनीहरुले कस्तो प्रतिक्रिया देखाउँछन् त्यसैबाट हामीले यो भाइरस वा यस्तै किसिमको अर्को किटाणुसँग व्यक्ति सम्पर्कमा आएको छ छैन भन्ने पत्ता लगाउन सक्छौँ । त्यस्तै प्रमुख नोभल भाइरल इन्फेक्सनको सन्दर्भमा आईजीएम पहिले उत्पादन हुन्छ र आईजीजीले पछि मात्र प्रतिक्रिया दिन सुरु गर्छ । तर त्यही भाइरसले दोस्रोपटक संक्रमण गरेमा भने हाम्रो लिम्पोफाइटले त्यसलाई पहिचान गर्न सक्छ र पहिलेको अवस्था सम्झिएर केबल आईजीजी मात्र तिव्र रुपमा उत्पादन गरिदिन्छ ।

उसो भए बिरामीमा कस्तो असर देखियो त ?

यसपछि उनले बिरामीहरुमा यी एन्टिबडिजको परीक्षण गरे, जसले आफू आश्चर्यमा परेको उनी बताउँछन् । किनकि सबै बिरामीमा आईजीजी प्रतिक्रिया एकदम छिटो आइरहेको थियो भने आईजीएमको उत्पादन चाहिँ ढिलो र कमजोर देखियो । त्यसैले पनि उनीहरु यसअघि पनि कोरोना जस्तै भाइरससँग सम्पर्कमा आइसकेको शंका गर्न सकिने उनले बताए ।

यसरी जापानमा मात्र नभएर दक्षिण पूर्वी एसियाका अन्य क्षेत्र जस्तै चीन, दक्षिण कोरिया, ताइवान हङकङ लगायतमा पनि पहिले सार्स जस्तो भाइरस फैलिसकेको हुन सक्ने उनको धारणा छ ।

तर उनको भनाइलाई पूर्ण वैज्ञानिक मान्न नसकिने बताइएको छ । प्राफेसर केन्जीले भनेका छन्, “त्यस प्रकारको भाइरस कसरी एसिया भित्र मात्र सीमित रहन सक्छ रु उनका अनुसार केही क्षेत्रमा भाइरसको कम क्षति हुनु मान्छेहरुको व्यवहारमा पनि निर्भर हुनुलाई चाहिँ स्वभाविक मान्न सकिन्छ ।”

उदाहरणका लागि जापानीहरुले १०० वर्ष अगाडि १९१९ फ्लु महामारी भएदेखि नै मास्क लगाउँदै आएका छन् र कोरोना सुरु हुनु अघि पनि लगाइरहेकै हुन्थे । त्यसैले जापानमा परम्परागत रुपमै कसैलाई रुघाखोकी लागेको छ भन्ने सो व्यक्तिले मास्क लगाउने अपेक्षा गरिन्छ ।

उनका अनुसार मास्कका कारण पनि त्यहाँ छिटै अवस्था नियन्त्रणमा आउन सकेको हो । त्यस्तै १९५० तिर जापानले टिबी रोगको प्रकोप पनि सामना गरिसकेको हुँदा त्यहाँ ट्रेसिङ प्रणाली प्रभावकारी रहेको बताइन्छ । त्यतिबेला नै सरकारले देशव्यापी रुपमा विभिन्न सार्वजानिक स्वास्थ्य निकायको स्थापना गरेको थियो जहाँ नयाँ संक्रमणबारे तुरुन्तै खबर गरिन्थ्यो ।

यसैगरी जापानका अध्ययनकर्ताहरुले कोभिड–१९ सम्बन्धी जान्नैपर्ने ३ तथ्य पनि पत्ता लगाएका हुन्– हावा नछिर्ने ठाउँ, धेरै मान्छे एकैठाउँ भएको ठाउँ सबैभन्दा जोखिमपूर्ण हुन्छन् र बोल्दा आमनेसामने हुनुले पनि संक्रमण अत्यन्तै छिटो फैलाउन सक्छ । यसका कारणले नै मानिसहरुलाई सरकारले जबरजस्ती घरमै बस्नु भन्ने आदेश दिनु परेन ।

यसमा सबैले यी तीन कुराको ख्याल राखेमा कोभिडबाट जोगिन सकिन्छ भन्नेमा सचेत भए । यसरी जापान यो कुरामा भाग्यशाली र आश्चर्यजनक दुवै भएको बताइन्छ । यसमा जापानी नागरिकहरुको इमान्दारीताले नै कोभिड विरुद्धको सफलतामा ठूलो भूमिका खेलेको विज्ञहरु बताउँछन् । त्यहाँको सरकारले जनतालाई आफ्नो ख्याल राख्न, भीडभाडमा नजान, सधैँ मास्क लगाउन र नियमित हात धोइररहन आग्रह गर्यो र अधिकांश जनताले यी सबै कुराको पूर्ण पालन गरे जसले नै ठूलो क्षति हुनबाट यो देशलाई बचाएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.