News of Nation

धरमपुरमा आदीवासी जनजाति युवाहरुलाई एक महिने ड्राइभिङ तालिम

धरमपुर, २३ असार–बेरोजगार आदीवासी जनजाति युवाहरुलाई लक्षित गरेर स्वरोजगार बनाउन झापाको शिबसताक्षी-१ धरमपुरमा एक महिने ड्राइभिङ तालिम सुरु भएको छ । झापा क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगरको आर्थिक सहयोगमा नेपाल आदीवासी जनजाति महासंघ वडा समन्वय समिति शिबसताक्षी-१ धरमपुरले ११ जना युवाहरुलाई ड्राइभिङ तालिम सुरु गरेको हो ।

वडा समन्वय समितिका अध्यक्ष एबम् धरमपुरका सामाजिक अगुवा नेत्र नेम्बाङका अनुसार प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगरको रु १ लाख सहयोगमा तालिम सुरु भएको छ । तालिममा शिबसताक्षी वडा नं १ (धरमपुर–८ र ९) का ११ जना आदीवासी जनजाति युवाहरुले सहभागी जनाएका अध्यक्ष नेम्बाङले जानकारी दिए । उनका अनुसार आदीवासी जनजाति महासंघमा आवद्ध भएका ११ वटा जातिय संघसंस्थाका युवा प्रतिनिधिहरु तालिममा सहभागी छन् । तालिम दैनिक रुपमा विहान ८ बजेदेखी र दिउसो ३ बजेपछि भइरहेको छ ।

तालिमको सोमबार वडा अध्यक्ष सुवास राईले उद्घाटन गरेका छन् । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई दमकस्थित नेम्बाङ ड्राइभिङ सेन्ट्ररले सहजिकरण गरिरहेको छ । तालिम पश्चात उनीहरु सवारी साधनको कुशल ड्राइभर हुन सक्ने सीप र क्षमताको विकास गर्ने अध्यक्ष नेम्बाङले जानकारी दिए । नेम्बाङले भने–एक महिनासम्म सिकेको सीपले उनीहरुले आफ्नो जीवनमा व्यवहारमा देखाउन सके डाइभिङ पेशा वा व्यवसायबाट भरपर्दो आय–आम्दानी गर्न सक्नेछन् ।

तालिम उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय समिति शिबसताक्षीका उपाध्यक्ष भीमबहादुर सुनुवार, किरात राई यायोक्खा वडा समन्व्य समितिक अध्यक्ष थीरबहादुर राई, नेपाल मगर संघबाट चित्रकला मगर, नेपाल माझी उत्थान संघको तर्फबाट धरमपुरका सामाजिक अगुवा सन्तवीर माझी, भुजेल समाजबाट मोतीलाल भुलेज, नेपाल तामाङ घेदुङ संघबाट कुमारी तामाङको उपस्थिति रहेको नेपाल आदीवासी जनजाति महासंघ वडा समन्वय समितिका सचिव बिबेक सुनुवारले जानकारी दिए । सुनुवारका अनुसार तालिमको समापनमा सहभागिहरुलाई संस्थाको तर्फबाट प्रमाणपत्र प्रदान गरिने छ।

यसअघि, वडाका युवाहरुलाई लक्षित गरेर कार्यक्रम उद्घोषण, भाषण कला, बैठक पुस्तिका तथा प्रस्ताव लेखन सम्बन्धी तालिमको आयोजना गरिएको अध्यक्ष नेत्र नेम्बाङले जानकारी गराए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.