News of Nation

आठ जिल्लामा बाढी पहिरोको वितण्डाः शुक्रबार एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता

काठमाडौं, २६ असार–लगातारको भारी वर्षाले शुक्रबार देशका विभिन्न जिल्लामा बितण्डा मच्चाउँदै ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

लगातारको भारी बर्षाका कारण शुक्रबार देशका आठ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । शुक्रबार देशभर नै पानी परेका कारण जनजीवन असामान्य बन्न पुगेको छ । भारी बर्षा, पहिरो र बाढीका कारण शुक्रबार एकै दिन २३ जनाको ज्यान गएको छ । त्यस्तै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर भारी बर्षा भए पनि म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ठूलो संख्यामा जनधनको क्षति पुगेको हो ।

बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन् । म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् । लमजुङमा ३ जनाको ज्यान गएको छ, ३ जना घाइते भएका छन् । कास्कीमा ७ जनाको ज्यान गएको छ १७ जना घाइते भएका छन् ।

रुकुम पश्चिममा २ जनाको ज्यान गएको र १ जना घाइते भएका छन् । तनहुँमा बाढीका कारण डुबान भए पनि मानवीय क्षति भएको छैन । जाजरकोटमा पहिरोका कारण ७ जनाको ज्यान गएको, ५ जना घाइते भएको र ५ जना बेपत्ता छन् । गुल्मीमा एक जनाको ज्यान गएको छ ।

यसअघि बिहीबार सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी २ जनाको ज्यान गएको थियो । २१ जना अझै बेपत्ता छन् । त्यहाँ ७ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले अझै एक हप्तासम्म भारी वर्षाको सम्भावना भएकाले थप क्षतिका घटना हुनसक्ने जनाउँदै समयमै सुरक्षाका उपाय अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.