News of Nation

बिर्तामोडको हाम्रो नेपाल र दमकको कान्तिपुर साकोसबीच एकीकरण

दमक, २९ असार–झापाका दुईवटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । जिल्लाभर कार्यक्षेत्र रहेको बिर्तामोड नगरपालिका–४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र दमक–६ स्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाबीच असार २८ गते एकीकरण भएको हो ।

आइतबार दमकमा दुवै सहकारी संस्थाका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुको संयुक्त बैठकले दुवै सहकारी संस्था एकीकरण भएको निर्णय गरेको हो ।

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बासुदेव भट्टराईको संयुक्त अध्यक्षतामा भएको बैठकले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीको २०७७ असार २३ को पूर्व स्वीकृति बमोजिम दुवै सहकारी संस्थाबीच एकीकरणको निर्णय गरेको हो ।

सो बैठकमा हाम्रो नेपालका अध्यक्ष दंगालले एकीकरणको औचित्य माथि प्रकाश पार्दै सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार उद्देश्य एउटै भएका कारण दुई सहकारीबीच एकीकरण गरिएको बताए ।

उनले दुई सहकारीबीच एकीकरण गरेसँगै अब उप्रान्त हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४ को नामबाट दमकमा कारोबार गरिने बताए ।

शेयर सदस्यहरुले जीवनका अनेकन सुखदुःखका क्षणहरुमा हाम्रो नेपालको न्यानो साथ पाएको बताउँदै अध्यक्ष दंगालले बीमा, स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाह लगायतको सेवा सुविधा शेयर सदस्यहरुलाई प्रदान गरिरहेको जानकारी गराए ।

एकीकरण पछि संस्थाको नाम, ठेगाना, दर्ता नम्बर, पान नम्बर, विधान, विनियम, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति सबै हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था कै रहने निर्णय भएको छ ।

एकीकरणपछि कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले दमकमा हाम्रो नेपालको सदस्य सेवाकेन्द्र सञ्चालन गर्ने लगायत निर्णय गरेको संस्थाका अध्यक्ष दंगालले जानकारी दिएका छन् । संस्थाको हालसम्म १६ वटा सेवाकेन्द्र रहेकोमा एकीकरण पछि दमकमा १७औं सेवा केन्द्रको रूपमा कार्यालय सञ्चालन गरिने छ ।

दुवै सहकारी संस्था एकीकरण पछि गत जेठ ३२ गतेसम्म संस्थामा १४ हजार १९२ जना शेयर सदस्य, सात करोड ४१ लाख ८१ हजार ७०० रुपैयाँ शेयर पुँजी, ४८ करोड २७ लाख ८८ हजार ६६४ रुपैयाँ निक्षेप मौज्दात रहेको जनाइएको छ । संस्थामा ६९ करोड ७२ लाख ३५ हजार २२० रुपैयाँ लगानीमा रहिरहेको ऋण अंक कायम छ ।

अब संस्थामा १३७ जना कर्मचारी भएका छन् । सो अवधिमा संंस्थाको आम्दानी आठ करोड ३९ लाख ३४ हजार १७६ रुपैयाँ, खर्च सात करोड ८८ लाख ८२ हजार १५६ रुपैयाँ र संस्थाले ५० लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको हाम्रो नेपालका अध्यक्ष दंगालले जानकारी गराए ।

कार्यक्रममा कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बासुदेव भट्टराईले आफ्नो संस्था २०६८ साल पुष ५ गतेदेखि सञ्चालनमा रहेको जानकारी गराए । एक्लै हिड्दा यहाँसम्म आइयो, अब हाम्रो नेपालसँग एकीकरण भएपछि अझ मजवुत बनेर आफ्ना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिने विश्वास व्यक्त गरे ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.