News of Nation

फुटबल टिमको प्रशिक्षण सुरु गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने

काठमाडौं, ३० असार–अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारी साउन पहिलो सातादेखि सुरु गर्ने निर्णय गरेको थियो।

तयारी सुरु गर्नका लागि एन्फाले खेलकुद मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सँग अनुमति मागेको थियो।

तर सिसिएमसीको बैठकमा फुटबल टिमको विषयमा छलफल भए पनि निर्णय भएको छैन।

सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले बैठकमा फुटबल टिमको प्रशिक्षण सुरु गर्ने विषयमा छलफल भएको बताए। उनका अनुसार यथास्थितिको लकडाउन साउन ७ गतेसम्म रहेकाले फुटबल टिमले प्रशिक्षण अनुमति पाउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ।

‘यथास्थितिको लकडाउन साउन ७ सम्म रहेको अवस्थामा सिसिएमसीले फुटबल प्रशिक्षणका लागि अनुमति दिन सक्दैन। सिसिएमसीले मन्त्रिपरिषद्मा सिफारिस गर्ने हो। त्यसैले मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र फुटबल टिमको प्रशिक्षण हुनसक्छ,’ उनले भने।

गुरागाईंका अनुसार यो विषयमा केहि दिनमा बस्ने सिसिएमसीको बैठकमा छलफल हुनेछ। मन्त्रिपरिषद्ले निर्णय कुर्नु पर्ने अवस्थामा साउन पहिलो सातादेखि नेपाली टिमको प्रशिक्षण सुरु नहुने भएको छ।

अनुमित पाएपछि खेलाडी, प्रशिक्षक र अफिसियलको कोरोना भाइरसको पिसिआर परीक्षण तथा एन्फा होस्टल साफा गर्नु पर्नेछ। त्यसपछि मात्र विश्वकप छनोटको तयारी सुरु हुनेछ।

कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासंघ ९एएफसी० को प्रस्ताव छ। स्थगित भएका ती खेलहरू आगामी अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ मा गराउने भनिएको छ।

दोस्रो चरणको छनोटमा ‘चार म्याच डे’ का खेल बाँकी भए पनि नेपालले भने तीन खेल खेल्न बाँकी छ। तीन वटै खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ।

प्रस्ताव गरेको नयाँ मितिलाई फिफाले अनुमती दिए नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ।

छनोट खेलअन्तर्गत समूहमा पाँच खेल खेलेको नेपालले तीन अंक मात्र जोडेको छ। चाइनिज ताइपेइलाई पराजित गरेको नेपाल समूह बीमा चौथो स्थानमा छ।

फाइल तस्बिरः फाइल तस्बिर।
Facebook Comments

Leave A Reply

Your email address will not be published.