News of Nation

प्रधानमन्त्री ओलीको अडानः दुवै पदबाट राजीनामा गर्दिनँ, बैठक सामना गर्छु

नेताहरु भन्छन्ः 'अध्यक्षद्वयले सहमति खोज्नुको विकल्प छैन'

काठमाडौं, १ असार–शीर्ष नेताहरुको शक्ति संघर्षको टकरावको कारणले उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले समाधान पाउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेताको आन्तरिक तानातानले नेकपाभित्र सिर्जना भएको विवाद समाधान हुन नसकेको हो।

पार्टीभित्रको आन्तरिक शक्ति संघर्षको कारणले यतिबेला नेकपाभित्रको विवाद भुसको आगोझैँ सल्किएको छ। तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको शक्ति संघर्षले तत्कालै निकास पाउने छाँट देखिएको छैन। पार्टीको समस्या समाधानमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ८ पटक भन्दा धेरै दुईजना मात्रै बसेर भएको छ।

बिहिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल वरिष्ठ नेता नेपालसहित वार्तामा जुटेका थिए। तर, नेताहरुले अडान नछाडेपछि अवस्था झन् जटिल बनेको छ। विवादको कारणले असार १० गतेबाट बोलाइएको स्थायी कमिटीको बैठक समेत पटक पटक स्थगित भइसकेको छ। बिहीबार पनि कुरा नमिलेपछि शुक्रबारका लागि पछिल्लो पटक नेकपाले स्थायी कमिटीको बैठक डाकिएको छ।

ओलीले भने -राजीनामा दिन्‍नँ

प्रचण्ड र नेपालले दुईमध्ये एक पद छाड्न दबाब बढाइरहँदा ओलीले पनि आफूले दुवै पद नछाड्ने बताइरहेका छन्। असार १४ गतेको अभिव्यक्तिपछि उनीविरुद्ध दुई नेता झनै घेराबन्दी बढाएका छन्। ओली पार्टीको महाधिवेशनबाटै अध्यक्ष पदको टुङ्गो लगाउने पक्षमा अडिग रहदै आएका छन् भने प्रधानमन्त्रीमा पनि सहमति भैसकेको बताउदै आएका छन्। ओलीबाट सरकार र पार्टी सञ्चालन नभएको भन्दै अध्यक्ष दाहालसहितका नेताहरु राजीनामा मागिरहेका छन्।

स्थायी कमिटीको बैठकमा दाहाल–नेपाल समूहले मोर्चाबन्दी गरेपछि उनले बैठक छलिरहेका छन्। दाहालले पार्टी एकताका क्रममा सहमति भए अनुरुप कार्यान्वयनका लागि आलोपालोको कुरा उठाउँदैछन् भने नेपाल एक पद छोड्नै पर्ने अडानमा छन्। पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्रीको राजीनामाबारे उठेका बिषयमा प्रधानमन्त्रीको धारणा स्पष्ट भइसकेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बताउँछन्। ‘उहाँले आफ्नो राजीनामाको बिषयमा स्पष्ट धारणा राखिसक्नु भएको छ।

अध्यक्ष दाहालसँगको भेटमा पनि त्यही कुरा पटक पटक दोहर्याइसक्नु भयो,’ उनले भने, ‘अहिलेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कारण छैन।’ बिहीबार पनि ओलीसँग दाहाल–नेपालले राजीनामाकै कुरा दोहोर्या‍ए । ‘प्रधानमन्त्रीसँग आज पनि अध्यक्ष दाहाल र नेता नेपालले कुरा गर्नुभएको छ। त्यही पनि केही कुरा भयो होला’, उनले भने, ‘यसअघि जस्तो बैठक पटक पटक स्थगित नभए भोलिको स्थायी कमिटीको बैठकमा छलफल होला। उहाँहरुले आफ्नो धारणा राख्नुभयो। हामीले आफ्नो धारणा राखेका छौँ, राख्छौँ। बाँकी त्यही निर्णय हुन्छ।’

सामना गर्ने

सरकार असफल भएको भन्दै ३० बढी स्थायी कमिटी सदस्यले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दा समेत प्रधानमन्त्री ओली आफ्ना अडानबाट टसमस नहुने पक्षमा उभिएका छन्। बिहीबार पनि वरिष्ठ नेता नेपालले दुईमध्ये एक पद छाड्नै पर्ने अडान लिएका थिए। तर ओलीले बरु आफू सामना गर्न तयार रहेको तर कुनै पद नत्याग्ने बताएका थिए।

Facebook Comments

Leave A Reply

Your email address will not be published.