News of Nation

प्रधानमन्त्री ओलीको नयाँ प्रस्तावः पार्टीको एकता महाधिवेशन मंसिरमा गरौं

लिखितरुपमै निर्णय हुनुपर्ने अन्य नेताको अडान

काठमाडौं, ३ साउन–प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन तोकिए भन्दा अगाडि नै गरेर नेतृत्व सम्बन्धी विवाद हल गर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन्। पार्टीभित्रको विवाद समाधानतर्फ गइरहेको बताइरहेका बेला प्रधानमन्त्री ओलीले यही मंसिरमा पार्टीको एकता महाधिवेशन प्रस्ताव अघि सारेका हुन्।

पार्टीको विवादका क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले दुईमध्ये एक पद छाड्नै पर्ने बारम्बार दबाब दिएपछि ओलीले नयाँ प्रस्ताव ल्याएका हुन्। नेकपामा सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी पछि सर्वाधिक शक्तिशाली महाधिवेशन मानिन्छ। नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि महाधिवेशन नभएको अबस्थामा यसको भूमिका अझ वृहत रहनेछ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीको एकता बचाइ राखेर अघि बढ्न एकता महाधिवेशन चाँडो गर्ने गरी नयाँ प्रस्ताव अघि सारेका स्रोतले जनाएको छ। तर अन्य नेताहरुले भने प्रस्ताव सकारात्मक भए पनि लिखित रुपमा आएको अवस्थामा मात्रै मान्‍न सकिने बताएका छन्। उनीहरुले यसअघि पनि प्रधानमन्त्री ओली प्रस्ताव गर्दै आएका कतिपय बिषय कार्यान्वयन नगरेकाले लिखित रुपमै प्रस्ताव आएमा मात्रै सोच्न सकिने बताएका थिए। यद्यपि अहिले सम्ममा आएको यो प्रस्तावलाई ओली इतर पक्षले सबैभन्दा सकारात्मक मानेको बुझिएको छ।

दाहाल-नेपाल र ओली दुवै पक्ष अडानबाट टसमस नभएको अवस्था शुक्रबार र शनिबार भएको छलफलले विवादको निकास निकालेको अनुमान गरिएको छ। तत्काललाई ओलीले सरकारको नेतृत्व सम्हाल्ने र अध्यक्ष दाहालले पार्टीको पूरै कमाण्ड सम्हाल्ने गरी कुरा मिलेको अनुमान र हल्ला गरिए पनि प्रचण्डको निजी सचिवालयले कुनै सहमति नभएको र सबैकुरा छलफलकै क्रममा रहेको जनाएको छ।

पार्टीभित्रको विभाजन रोक्न प्रधानमन्त्री ओलीको प्रस्ताव सकारात्मक मानिएको छ। नेकपाको एकता अझै नसकिएको अबस्थामा यसलाई कार्यान्वयन गर्न सकिने कुरामा प्रचण्ड-नेपाल पक्ष विश्वस्त हुन सकेको छैन। नेकपाको एकता महाधिवेशन २०७७ चैतमा गर्ने निर्णय भएको थियो। समस्या समाधानका लागि छलफल भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। तर उनले प्रधानमन्त्रीको प्रस्तावबारे केही बोलेनन्। थप गृहकार्यमा जुट्ने सहमति भएको उनले बताए।

जारी स्थायी कमिटीको बैठकमा प्रचण्ड-नेपाल पक्षधरले ओलीले सम्हालिरहेका दुबै पदबाट राजीनामा मागिरहेका छन्। तर, ओली तत्काल दुवै पदबाट राजीनामा नदिने पक्षमा उभिदै आएका छन्। शनिबारको सचिवालय बैठकले पार्टी भित्रको समस्या समाधान गर्न छलफल गर्ने र भोलिका लागि बोलाएको स्थायी कमिटीको बैठकलाई निरन्तरता दिने निर्णय गरेको छ।

बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल राष्टपति विद्यादेवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

Facebook Comments

Leave A Reply

Your email address will not be published.