News of Nation

लकडाउनसँगै १९ अर्ब राजस्व गुम्यो

चितवन, ४ साउन–कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम संकलन गरेको छ । कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य दिएको थियो ।

विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा रु १९ अर्ब ९६ लाख ८४ हजार कम अर्थात् रु २४ अर्ब ३७ करोड ८० लाख १६ हजार मात्र राजस्व संकलन भएको हो । कार्यालयले दिएको जानकारीअनुसार लक्ष्यको ५६ दशमलव १९ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७५(७६ मा कार्यालयले रु ३० अर्ब ३५ करोड २३ लाख १९ हजार राजस्व संकलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा आय कर रु दुई अर्ब १९ करोड ३१ लाख ६१ हजार, बहाल कर रु पाँच करोड ७९ लाख ५० हजार, व्याजकर रु १४ करोड ९० लाख ९५ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब नौ करोड ८४ लाख ८६ हजार, अन्तःशुल्क रु १९ अर्ब ८६ करोड १२ लाख नौ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ७८ लाख ६८ हजार र शिक्षा सेवा कर रु दुई लाख ४७ हजार संकलन भएको छ ।

प्रतिशतका हिसाबले मूल्य अभिवृद्धि करमा १०० दशमलव ४१ प्रतिशत असुल भए पनि अन्य सबै लक्ष्यभन्दा कम रहेको रिजालले बताउनुभयो । राजस्वको मुख्य हिस्सा अन्तःशुल्क हो । असार मसान्तसम्ममा अन्तःशुल्कमा रु ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । तर लक्ष्यको ५२ दशमलव ३४ प्रतिशत मात्र अन्तःशुल्क संकलन भएको छ ।

अन्तःशुल्कमा मदिराजन्य वस्तु बिक्रीवितरण, निस्कासन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उहाँको भनाइ छ । यस्तै लकडाउनले अन्य क्षेत्र पनि पूर्ण प्रभावित भएकाले राजस्वमा निकै गिरावट आएको रिजालले बताए ।

यस कार्यालयअन्तर्गत व्यवसायी पानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ भन्दाबढी करदाता रहेका छन् । यस कार्यालयले चितवन र नवलपरासीको दाउन्ने सुस्ता पूर्व हेर्दै आएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.