News of Nation

चोरीका १० मोटरसाइकलसहित १४ युवा पक्राउ

दाङ, ५ साउन–दाङमा दश थान चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ।

उनीहरूले विभिन्न कम्पनीका मोटरसाइकल चोरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।

यसरी मोटरसाइकल चोरी गर्नेमा घोराही उपमहानगरपालिका-१३ का १८ वर्षीय संजय परियार, घोराही-१४ का २३ वर्षीय समिर सुनार, २१ वर्षीय सुवास कार्की, ३५ वर्षीय केन्द्रबहादुर डाँगी, घोराही-१६ का २१ वर्षीय सागर हमाल, घोराही-१७ का २३ वर्षीय निरज योगी रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै लमही नगरपालिका-७ का २५ वर्षीय प्रकाश चौधरी, २५ वर्षीय पाल्टुराम चौधरी, २७ वर्षीय हेमन्त गिरी, २४ वर्षीय धनीराम चौधरी, राजपुर गाउँपालिका-२ बेलाका १९ वर्षीय आयोज चौधरी, २२ वर्षीय प्रियतम चौधरी, २७ वर्षीय रविप्रताव यादव र सोही ठाउँका २७ वर्षीय राजकुमार यादवलाई पक्राउ परेको प्रहरी प्रमुख चन्दले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। पक्राउ पर्नेहरू प्रायः मध्य वर्गीय रहेको डिएसी खड्काले बताए।

‘मोटरसाइकल चोरी जतिमा बिक्छ त्यतिमा बेचेको पाइएको छ,’ खड्काले भने, ‘दश हजारमाथि ६० हजारसम्म बाइकहरू बेचेको अनुसन्धानबाट खुलेको छ।’ कुनै काम नगर्ने, डुलेर हिँड्ने युवाले पैसाकै लागि मोटरसाइकल चोरी गर्ने गरेको पाइएको खड्काले बताए।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका १० वटा मोटरसाइकलसहित १४ जनालाई पक्राउ गरेको उनले बताए।

यातायात व्यवस्था कार्यालयका सहयोगीसहित ५ जना पक्राउ

प्रहरीले नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगीसहित ५ जनालाई पनि पक्राउ गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेकाहरूलाई नक्कली कागजात सहित सार्वजनिक गरेको हो।

चार जनाको मिलेमतोमा सरकारी छाप किर्ते गरी नक्कली ब्लुबुक बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर-४ का ४८ वर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर-६का २१ वर्षीय अव्दुल हफिस सिद्धिकी, ३७ वर्षीय जीवन पोख्रेल, ३२ वर्षीय बिष्णु घिमिरे र वडा नम्बर-५ का चक्रबहादुर वली छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिए।

प्रहरीले जीवन पोख्रेल, चक्रबहादुर वली र बिष्णु घिमिरेलाई प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्थाप कार्यालय दाङ लेखेको छाप एक थान, शाखा अधिकृतको छाप एक थान र एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

उनीहरूको मोटरसाइकल चोरी र मोडिफाइ गर्ने गिरोहसँग साँठगाँठ हुन सक्ने एसपी चन्दले बताए। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.