काठमाडौं, २१ साउन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १२ आरोप लगाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीमा गोप्य पत्रकार जमघटको आयोजना गरेको थियो । जमघटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटीका रघुजी पन्त, पम्फा भुसाल उपस्थित थिए ।

अनौपचारिक भनिएको पत्रकार जमघटमा नेता नेपालले ओलीले समयमा बैठक नबसेको र बैठक बसे पनि गम्भीर छलफल र विमर्श हुन नदिएको आरोप लगाएका हुन् ।

“ओलीले कहिले पनि महत्त्वपूर्ण विषयमा छलफल हुन दिनुभएन । बैठक चलिरहेका बेला बैठकको बीचबाटै उठेर हिँडिदिने गर्नुभयो । त्यसो हुँदा पार्टी विधि, पद्धतिमा कहिल्यै चल्न सकेन,” उनले भने ।

नेता नेपालले ओलीले पार्टीको अध्यक्ष बन्न नसकेको र निरन्तर गुटगत गतिविधिलाई जारी राखेको निष्कर्ष निकालेका छन् । “पार्टीलाई विधिबाट विमुख बनाएर कागजमा सीमित राख्नुभयो,” नेपाल आफ्नो तर्कमा उभिए ।

ओलीले जनसंगठन, निकाय, विभागलाई पूर्णता दिन र एकताको कार्यभार पूरा गर्न नसकेको नेपालले आरोपित गरेका थिए । प्रधानमन्त्री ओलीले आफूखुसी, मनपरी ढङ्गले, अयोग्य र आफ्नो गुटका मानिसहरूलाई गोजीबाट फुत्त निकालेर नियुक्ति दिएको भन्दै नेपालले अर्को आरोप लगाएका थिए ।

भ्रष्ट, आसेपासेको संरक्षण हुने गरेको र आफ्नो गल्ती ढाकछोप गर्न, लुकाउन पार्टीका अरू सदस्यलाई, नेतालाई हिलो छ्याप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति नेता नेपालले आक्रोश पोखेका थिए । नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गरेको, भ्रष्ट र आसेपासेहरूको संरक्षण हुने गरेको, आफूसँग असहमत हुनेहरूलाई शत्रुतापूर्ण व्यवहार गरेको आरोपित गरेका थिए ।

नेता नेपालले ओलीले पार्टीलाई विसर्जनको अवस्थामा पुर्‍याएको आरोप थपेका थिए । सरकार सञ्चालन पार्टीको सल्लाहमा नहुने गरेको र सरकारको काम सञ्चालनमा समेत गम्भीर प्रश्न चिह्न खडा भएको, सरकारको कामले पार्टीप्रति नै निराशा छाएको नेपालको आरोप थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *